खाँडाचक्रमा स्वतन्त्रका उम्मेदवार शाही विजयी

कालीकाेट । कालीकाेटकाे खाँडाचक्र नगरपालिकामा प्रमुखमा स्वतन्त्र पदका उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । उनलाई एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थन थियो । यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गणेशबहादुर शाहि निर्वाचित भएका छन् ।

प्रमुखमा कमलबहादुर शाहीले २ हजार ९१९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जसीप्रसाद पाण्डेले २ हजार ६०९ मत ल्याए । यस्तै उपप्रमुखमा गणेशबहादुर शाहीले २ हजार ९२६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना शाहीले २ हजार ३९९ मत ल्याएर पराजित भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

खाँडाचक्र नगरपालिकामा २०७४ सालमा नेकपा एमालेले जीत हासिल गरेकाे थियाे । प्रमुखमा जसीप्रसाद पाण्डे र उपप्रुमखमा बिजया बिष्ट निर्वाचित भएका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार खाँडाचक्र नगरपालिकामा ८ हजार ३१३ मत खसेकाे थियाे । नगरपालिकामा जम्मा मतदाता संख्या ११ हजार ३३८ रहेका छन् ।