आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदै

काठमाडौं । आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा २५ जेठसम्म हुनेछ ।

बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो ।

परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्डका प्रादेशिक कार्यालयले जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।