तीनजना फरार प्रतिवादी पक्राउ

सुर्खेत । कर्णाली प्रदेशका दुई जिल्लाबाट तीनजना फरार प्रतिवादी पक्राउ परेका छन् । रुकुम पश्चिमबाट २ जना र जुम्ला जिल्लाबाट एक जना विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ परेका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष सक्रियतामा विभिन्न कसुरमा अदालतबाट कैद र जरिवाना भई फरार रहेका उक्त तीनजलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका–९ का १९ वर्षीय समीर शाही (सुजल), चौरजहारी नगरपालिका–३ टाँटाँगाउका २२ वर्षीय सुदिप बुढाथोकी र जुम्लाको चन्दनाथ नगरपालिका–५ का ३० वर्षीय राजेश नेपाली रहेका प्रहरीले जनाएको छ ।

समीर ज्यान मार्ने उद्याेग सम्बन्धितको मुद्दा, सुदीप आत्महत्या दुरुत्साहनको मुद्दा र जुम्लाका राजेश चोरीको मुद्दा लागेपछि फरार भएका थिए ।

जिल्ला अदालत रुकुमपश्चिमले प्रतिवादी समीरलाई २०७९/०२/१९ गते ज्यान सम्बन्धि (ज्यान मार्ने उद्याेग) मुद्दामा र पहिला पनि सार्वजनिक अपराध मुद्दा शीर्षकका ३ वटा मुद्दामा एक हजार पाँच सय जरिवाना तोकेको छ ।

यस्तै, जिल्ला अदालत जुम्लाले राजेश नेपालीलाई २०७९/०२/२० गते नकबजनी चोरी मुद्दामा एक हजार २३० रुपैयाँ जरिवाना सुनाएपछि राजेश फरार रहेका थिए ।