अवैध मुद्राको कारोबार गरेको आरोपमा पाँच जना पक्राउ

सुर्खेत । कर्णाली प्रदेशको छिन्चुमा अवैध मुद्राको कारोबार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । अवैध मुद्रा सम्बन्धी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले भेरीगंगा नगरपालिका–१२ देउती टोलमा रहेको नास्ता पसलमा अवैध मुद्रा सम्वन्धी कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

नास्ता पसलमा मुद्रा सम्बन्धी कारोबार गरिरहेका सूचना पाएपछि प्रदेश प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुबाट छालाको मुद्रा जस्तो देखिने ११११ लेखिएको बिभिन्न बुट्टा भरेको त्रिभुजाकार वस्तु ,दुई थान छाला जस्तो त्रिभुजाकार वस्तु, विभिन्न आकारका चिज वस्तु तथा पत्थरहरु, बारुद जस्तो देखिने सानो डिब्बा तथा सानो विधुतिय वस्तुहरु दुई–दुई थान प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिम्ता गाउँपालिका–३ आग्रिगाउँका २३ वर्षीय समर बि.क. दैलेख भगवतीमाई गाउँपालिका–४ का १९ मदन बि.क., जाजरकोट छेडागाड नगरपालिका– ५ का २४ वर्षीय निमबहादुर बि.क., सोही ठाउँका ३३ वर्षीय रत्नबहादुर नेपाली र कुसे गाउँपालिका–५ खुर्पाका ३२ वर्षीय शान्तबहादुर बादी रहेका छन् ।