दैलेखको गुराँस र ठाटीकाँध गाउँपालिकाले हटायो करार कर्मचारी

सुर्खेत । कर्णालीका स्थानीय तहहरुले करारका कर्मचारी हटाउन थालेका छन् । दैलेखको गुराँस गाउँपालिका र ठाटीकाँध गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ ।

  

गाउँपालिकाको असार २९ गतेको निर्णय अनुसार गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने वडा कार्यालयका सबै करार सेवाका कर्मचारी, स्वास्थ संस्थाहरुका सबै करार सेवाका कर्मचारीहरु र विद्यालयहरुमा गाउँपालिकाको अनुदान अन्तर्गत सम्पुर्ण शिक्षक, विद्यालय कर्मचारी तथा बालबिकास सहजकर्ताहरुको म्याद थप नहुने सुचना निकालेर करार कर्मचारी हटाएको हो ।

त्यस्तै दैलेखको ठाटीकाँध गाउँपालिकाले करारका कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको २८ असारमा बसेको बैठकले गाउँपालिकाबाट तलब भत्ता भुक्तानी भइई करारमा कार्यरत कर्मचारीहरुको १ साउनबाट करार सम्झौता नवीकरण नगर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद उपाध्यायले बताए ।

गाउँपालिकाले गरेको पत्राचारमा करार सम्झौता थप नहुने निर्णय भएकालेले अर्को निर्णय नभएसम्मको लागि कार्यालयमा हाजिर भई कामकाज नगर्न भनिएको छ ।