खराब मौसमका कारण हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला। खराब मौसमका कारण हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो । नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ ।

तेल, चिनी, बेसार, मसाला लगायतसामग्रीको अभाव सिमकोटमा देखिन थालेको पसल व्यवसायीले बताउने गरेका छन् । तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् भने सीता एयरले दुई दिनदेखि उडान नभरेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयात हुन सकिरहेको छैन् । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बर्दिया लगायतका जिल्लामा लाइसेन्सको लागि परीक्षा दिन जाने परीक्षार्थी बढी मारमा परेका छन् ।