चुनावलाई लक्षित गरेर कर्णालीमा एकीकृत समाजवादी आफ्नो शक्ति नाप्दै

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (एकीकृत समाजवादी) आफ्नो शक्ति नाप्दै छ । आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावलाई लक्षित गरेर समाजवादीले कर्णाली प्रदेशमा आफ्नो शक्ति सन्तुलनको अवस्थाबारे बुझ्नका लागि नेताहरूलाई जिल्लाहरूमा खटाएको हो । प्रदेश कमिटीको विस्तारित बैठकले आन्तरिक शक्तिलाई मूल्याङ्कन गर्न र नेताहरूको जनस्तरमा आधार मापन गर्नका लागि प्रदेश कमिटीका पदाधिकारीलाई जिल्लाहरूमा खटाउने निर्णय गरेको छ ।

सोही निर्णय बमोजिम शनिबारदेखि नेताहरू आफ्नो भाग परेको जिल्लामा खटिसकेका छन् । नेताहरूले एक हप्तासम्म जिल्लामा बसेर पार्टीको वस्तुस्थिति बुझ्ने पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य एवम् सुर्खेत जिल्ला अध्यक्ष मोहन बडूवालले बताए । पार्टीका प्रदेश अध्यक्ष अमरबहादुर थापालाई सुर्खेतमा खटाइएको छ । उनको गृह जिल्ला दैलेखमा भने प्रदेश इञ्चार्ज समेत रहेका प्रकाश ज्वाला खटिएका छन् ।

हुम्लामा केन्द्रीय कमिटी पोलिटब्युरो सदस्य शेर बहादुर केसी, सल्यान र डोल्पामा प्रदेश कमिटी सचिव खगेन्द्र पुरी, जाजरकोटमा सह–इञ्चार्ज चन्द्रबहादुर शाही, कालिकाटमा प्रदेश कमिटी उपसचिव कृष्ण बिसी र कुर्मराज शाहीलाई जुम्लाको जिम्मेवारी दिइएको छ भने रुकुममा हंशबहादुर शाही र मुगुमा देविलाल थापाले जिम्मेवारी पाएका छन् ।