उम्मेदवारी मनोनयनको अधिकार देउवालाई दिने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

काठमाडौं ।आज बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ । पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले निर्वाचनका लागि उम्मेदवारका आकांक्षिहरुको नाम सिफारिस गर्न तल्ला तहका कार्यसमितिहरूलाई निर्देशन दिने निर्णय पनि गरेको छ । चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पाएका छन् ।

त्यस्तै निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियान २०७९ भाद्र २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भाद्र १० गतेदेखि भाद्र २४ गतेसम्म संचालन गर्ने पनि कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको छ ।