द्वन्द्वपीडित नन्दराज बडूलाई राहतको चिठी आयो, रकम आएन्  

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्द्वपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका बुबालाई बेपत्ता पारियो । बुबाको अवस्था अझै आज्ञात छ ।

२० वर्षअघि २०५९ सालमा व्यक्तिगत कामका लागि बैतडीबाट कञ्चनपूर जाँदै गरेका उनका बुबा गंगादत्त बडू बाटोबाटै बेपत्ता भए । द्वन्द्वका कारण बबा गुमाएका नन्दराजको शरीरका अंगले कुटाइ खाएका कारण राम्रोसँग काम गर्दैनन् ।

यस विषयमा समाचार प्रशारण तथा प्रकाशन भएपछी नन्दराजबारे छानबिन गरी राहत स्वरुप १० लाख रकम प्रदान गरिने चिठी प्राप्त भयो । तर, उक्त चिठीअनुसारको रकम भने अझै पाइएको छैनन् ।

नन्दराजलाई गृह मन्त्रालयमार्फत १० लाख रकम उपलब्ध गराउन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सिफारिस गरेको छ । उक्त चिठी नन्दराजका नाममा गत १३ जेठमा पठाइएको छ । तर, उनले हालसम्म रकम पाउने विषयमा अन्य जानकारी प्राप्त गरेका छैनन् ।

नन्दराजका छोरासमेत अपांग छन् । छोराको उपचार गर्न र पैसा जुटाउन भारतका विभिन्न ठाउँहरूमा मजदुरी गरे पनि छोराको उपचार सम्भव भइसकेको छैन् ।

उनले दर्जनौँपटक तत्कालीन शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, मानवअधिकारवादी संस्था सबै ठाउँ धाए पनि केही सहयोग नपाएको गुनासो गरे ।

‘बुवाको मृत्यु भएको जानकारी मात्रै पाए पनि काजकिरिया गर्थँे । तर, न सास न लास भनेझैँ केही खबर पाएको छैन,’ नन्दराज भन्छन् । उनका बुबालाई तत्कालीन सरकारी पक्षले मारेको हुनसक्ने उनको आशंका छ ।