बहरका गजलको एल्बम ‘शुभेच्छा’ सार्वजनिक

काठमाडौं । गजलकार घनेन्द्र ओझाका रचनाहरू र सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक गरिएको छ ।शनिबार १५७औँ मोतीजयन्तीको अवसरमा अनाममण्डलीले आयोजना गरेको कार्यक्रममा उक्त एल्बमको लोकार्पण गरिएको हो ।

नेपाली गजल सङ्गीतमा आउने क्रम क्रमशः बढिरहेको बताउँदै गजलकार करुण थापाले लामो समयदेखि गजललेखन, अभियान र समालोचनामा सक्रिय घनेन्द्रले बहरका मात्र गजलहरूको एल्बम तयार पारेर नेपाली गजलका क्षेत्रमा उल्लेख्य कार्य गरेको बताए । थापाले ओझाले नेपाली गजलमा बहरबद्ध एकल सङ्ग्रह लेखन, संयुक्त सङ्ग्रहको सम्पादन तथा अन्य धेरै कार्यहरू गरिसकेका र सम्भवतः यही एल्ब निकाल्न मात्र बाँकी रहेकाले त्यो कार्य पनि पूरा गरेको हुन सक्ने धारणा राखे । लामो समयदेखि सङ्गीत क्षेत्रमा सक्रिय सन्तोष श्रेष्ठको सङ्गीत भर्ने कला प्रशंसनीय रहेको थापाको भनाइ थियो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले सिर्जनशील कर्ममा रमाइरहने स्वभावका घनेन्द्र बहुआयामिक व्यक्तित्व भएका र गजलका क्षेत्रमै समर्पित भएकाले एल्बम प्रकाशन सराहनीय कदम रहेको बताए ।

पूर्व मुख्य सचिव एवं साहित्यकार डा। भोजराज घिमिरेले थजल आफैँमा बहरमै लेखिने भएकाले शास्त्रीय र गैरशास्त्रीय बहरका वा गैरबहरका भनिरहनु नपर्ने धारणा राखे । डा. घिमिरेले अब नेपाली गजलमा सङ्गीतको लहर आउन सक्ने आँकलन पनि गरे ।

प्रमुख अतिथि प्रा।डा। कृष्णहरि बरालले नेपाली गजल गायनको शैली, नेपाली गजल सङ्गीतको शैली नेपालीकरण भइरहेको र सोहीअनुसार पछिल्लो समय नेपाल गजलमा सङ्गीत भरिँदै आएको बताए । यस एल्बमका रचनामा शास्त्रीय शैलीको सङ्गीत र गायनको माग भएको भए पनि सङ्गीतकार श्रेष्ठले नेपाली शैलीकै अर्धशास्त्रीय शैलीमा सुन्दर सङ्गीत भरेका डा. बरालको भनाइ थियो ।

गजलकार राधा कणेलले घनेन्द्र नेपाली गजल परिष्कारका लागि लामो समयदेखि लागिरहेका र त्यसकै पछिल्लो कार्य शुभेच्छा एल्बम रहेको बताइन् ।

नेपाली गजल सङ्गीतका क्षेत्रमा बहरमा मात्र लेखिएका गजलहरूको एल्बम हालसम्म नपाइएको र बहरबद्ध गजलहरूलाई एल्बमकै रूपमा ल्याउनु राम्रो हुने ठानेर एल्बम तयार पारेको सङ्गीतकार श्रेष्ठले बताए ।गजलकार रूपक अलङ्कारले सङ्गीतमा आएपछिको गजलको स्वाद नै भिन्न हुनेरहेछ भन्दै घनेन्द्रका गजलले बल्ल प्राण पाएको बताए ।

एल्बममा नेपाली गायनका ४ पुस्ता समेट्ने प्रयास सफल भएको घनेन्द्र ओझाले बताए । उनले भने, ‘हामीले बहरबद्ध गजलहरूको एल्बमको अभाव त देख्यौँ नै, त्यससँगै एउटै एल्बममा, त्यो पनि गजलमा नेपाली गायनका ४ पुस्ता जोड्ने सोच बनाएर यो काम गरेका हौँ ।’

एल्बममा पहिलो पुस्ताबाट ज्ञानु राणा, दोस्रो पुस्ताबाट आनन्द काकी, तेस्रो पुस्ताबाट शिव परियार, निशा देशार र सन्तोष श्रेष्ठ तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीको स्वर समेटिएको छ । एल्बम कामना डिजिटल प्रालिले ल्याएको हो ।