कर्णालीमा कसको अग्रता ?

सुर्खेत । कर्णालीका १० जिल्लामध्ये ४ जिल्लामा मतगणना जारी रहदा रुकुमपश्चिम र कालिकोटमा मतगणना सुरु भएको छ । अन्य ४ जिल्लाको मतगणना भने सुरु हुन सकेको छैन । सुर्खेत २, दैलेख, सल्यान र जुम्लामा मतगणना जारी छ ।

जारी मतगणना अनुसार नेपाली कांग्रेस २, नेकपा एमाले १, नेकपा एकिकृत समाजवादी १, नेकपा माओवादी १ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा अग्रता कायम गरेका छन् । दुई निर्वाचन क्षेत्र रहेको प्रदेश राजधानी सुर्खेको क्षेत्र नम्बर १ मा आइतबार रद्द भएको निर्वाचन आज विहान ७ बजेबाट सुरु भएको छ । प्रदेससभाको मतपत्रमा पहिलो हुने प्रतिनिधिसभाको मतपत्र भेटिएपछि मतदान रद्द भएको थियो । सुर्खेत क्षेत्र नम्बर २ मा गठवन्धनका तर्फबाट नेपाली कांग्रेस अगाडि देखिएको छ ।

कांग्रेसका हृदयराम थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसीलाई पछाडि पार्दै अग्रता कायम गरेका छन् । २६ हजार १ सय २५ मत गणना हुँदा थानीले ११ हजार ८ सय ८५ मत प्राप्त गरी अग्रता लिदा एमालेका बिसीले १० हजार २ सय ४३ मत प्राप्त गरेका छन् । थानी र बिसीबीच कडा प्रतिस्पर्धा भएको देखिन्छ । थानी पूर्व सहकारी मन्त्री हुन भने बिसी पहिलो पटक संसदीय चुनावमा देखा परेका छन् । यस्तै सल्यानमा नेकपा एकिकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले ८ हजार ९ सय ७ मत प्राप्त गरी फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्, भने उनका प्रतिस्पर्धी स्वतन्त्रका राजेन्द्रबहादुर शाहले ४ हजार १ सय ६७ मत प्राप्त गरेका छन् । सल्यानमा एमाले तेस्रो स्थानमा खुम्चिएको छ ।

ज्वाला यस अघिका पूर्व मन्त्रीसमेत हुन् । २ निर्वाचन क्षेत्र रहेको दैलेखका दुवै निर्वाचन क्षेत्रमा पनि मतगणना जारी छ । दैलेख १ मा एमालेमा लामो समय मिलेर काम गरेका पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा देखिदा एमालेका रविन्द्रराज शर्माले ३ हजार ४ सय १५ मत प्राप्त गरी अग्रता लिएका छन् । शर्माका प्रतिस्पर्धी समाजवादीका जिल्ला अध्यक्ष अमरबहादुर थापाले २ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् । शर्मा र थापाबीच झिनो मतान्तर रहेको छ ।

शर्मा २०७० को संविधानसभा सदस्य र थापा निर्वतमान कणरली प्रदेशका भौतिक मन्त्रीसमेत हुन् । यस्तै दैलेख २ मा कांग्रेसका दिक्पालकुमार शाहीले ४ हजार १ सय ८२ मत प्राप्त गरी अग्रता कायम गर्दा शाहीका प्रतिस्पर्धी एमालेका लक्ष्मीप्रसाद पोखरेलले ३ हजार ७८ मत प्राप्त गरेका छन् । शाही २०७४ मा एमालेका राजबहादुर बुढासँग पराजित भएका थिए भने, पोखरेल २०७० को संविधानसभा सदस्यसमेत हुन् । यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही पहिलो पटक संघीय संसद छिर्ने करिव पक्का भएको छ ।

शाहीले गठवन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुमारी गौतम (कुँवर) लाई झण्डै तेब्बर मतले पछाडि पारेका छन् । शाहीले ४ हजार ९१ मत हात पार्दा गौतमले एक हजार ४ सय ४९ मत प्राप्त गरेकी छन् । २०७० मा समानुपातिक कोटाबाट सांसद बनेकी गौतम पशुपंक्षी राज्यमन्त्रीसमेत हुन् । यस्तै जाजरकोटमा उपमहासचिवसमेत रहेका मओवादीका शक्तिबहादुर बस्नेत फराकिलो अन्तरले अगाडि छन् । बस्नेतले २ हजार २ सय ८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धि एमालेका निरज अचार्यले १ हजार ७ सय ७६ मत प्राप्त गरेको अवस्था छ ।

हिमाली जिल्लाहरु हुम्ला, डोल्पा, हुम्ला र मुगुमा भने अझै मतपेटिका संकलनको कार्य सम्पन्न हुन सकेको छैन । सडक सञ्जाल नपुगेका क्षेत्रहरुबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएपनि हेलिकप्टर अझै पुग्न सकेको अवस्था छैन । प्रदेश निर्वाचन कार्यालयका अनुसार आज बेलुकासम्म मत पेटिका सम्बन्धित जिल्ला सदरमुकाम आइपुग्ने जनाएको छ । मत पेटिका संकलन भएपछि मतगणनाको काम अगाडि बढ्ने कार्यालयको भनाई छ ।