कर्णाली प्रदेशसभाः दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु

सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यहरूले कर्णालीको रोग, भोक, गरिबी र पछौडेपन विरुद्ध एक ठाउँमा उभिने प्रतिवद्धता जनाएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्ने सदस्यहरूले देशको राजनीतिभन्दा माथि उठेर आफूहरू कर्णालीको विकास र समृद्धिका लागि लाग्ने प्रतिवद्धता जनाए ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको प्रतिपक्षी रोग, भोक, गरिबी र पछौडेपन भएको बताए । ‘देशको राजनीति जस्तोसुकै भए पनि कर्णालीमा हाम्रो प्रतिपक्ष रोग, भोक, गरिबी र पछौडेपन नै हो,’ मुख्यमन्त्री शाहीले भने, ‘यसका विरुद्ध हामी सबै एकै ठाउँमा उभिन आवश्यक छ ।’

उनले कर्णाली पछाडि पारियो भन्ने अवस्थाको अन्त्य भइसकेको बताउँदै अब कर्णाली बनाउने जिम्मेवारी प्रदेशसभाका सदस्यहरूको काँधमा आएको बताए । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सबै सूचकाङ्कमा पछाडि रहेको कर्णालीलाई देखिने गरी परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

कँडेलले कर्णालीमा विकास गर्ने नभई विकास खाने मनोविज्ञान रहेको बताए । उनले भने, ‘दोस्रो कार्यकालमा कर्णालीबासीलाई सकारात्मक सन्देश दिने गरी सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक छ ।’ माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले गरिबी नै कर्णालीको मुख्य दुश्मन, शत्रु र प्रतिपक्षी भएको बताए ।