शाहीका ‘यादका थुँगाहरू’ र ‘आमा र आँसु’ विमोचन



सुर्खेत । कवि तथा कथाकार बसन्तीकुमारी शाहीका दुई नयाँ कृति सार्वजनिक भएका छन्। शाहीद्वारा लिखित कविता संग्रह ‘यादका थुँगाहरू’ र कथा संग्रह ‘आमा र आँसु’ शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले दुवै कृतिको विमोचन गरेका हुन्। शाही कर्णाली प्रदेश लोकसेवा आयोगकी कार्यवाहक अध्यक्षसमेत हुन्।

‘यादका थुँगाहरू’ कविता संग्रहमा १ सय ४२ वटा कविता समेटिएका छन्। त्यस्तै, ‘आमा र आँसु’ कथा संग्रहमा १४ वटा कथा समावेश छन्। दुवै कृतिमा जीवनका भोगाइ, सम्बन्ध, भावना र सामाजिक परिवेशलाई साहित्यका माध्यमबाट प्रस्तुत गरिएको बताइएको छ।

विमोचन कार्यक्रममा शाहीका कृतिमाथि लेखक डा. नवराज केसी, साहित्यकार महेशविक्रम शाह र पत्रकार ज्योति कटुवालले चर्चा गरेका थिए।

साहित्य लेखनसँगै सार्वजनिक जिम्मेवारीमा रहेकी शाहीले आफ्ना सिर्जनामार्फत कर्णालीको सामाजिक परिवेश र मानवीय संवेदनालाई समेत उजागर गर्ने प्रयास गरेकी छन्।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार