मुख्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । कर्णालीका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक नभएको भन्दै विभिन्न संञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइमार्फत मुख्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

मुख्यमन्त्री शर्माको रुकुमको चौरजहारी नगरपालिका– १४ मा बाबु चन्द्रप्रकाश शर्माको नाममा अन्दाजी ४ देखि ५ रोपनी र रुकुमपश्चिमकै वडा नम्बर २ मा २१२० वर्गमिटर आफ्नो नाममा रहेको उल्लेख गरिएको छ । यसको स्रोत पैतृक, कृषि आय र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख छ ।

 

यस्तै, शर्माको अचल सम्पत्तिमा श्रीमती प्रतिभा केसीको नाममा दाङको लमही नगरपालिका– १ मा ३५७२.९१ वर्गमिटर जग्गा रहेको उल्लेख छन् । उक्त जग्गा पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ । मुख्यमन्त्री शर्माले सेवा सुविधाबाट प्राप्त नेपाल बैंक लिमिटेडमा ५ लाख नगद र अन्दाजी दुई तोला सुन माइतीबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

 

साथै, लमही नगरपालिका १ दाङमा कृषि तथा पशुधनमा अन्दाजी ३ लाख लागतमा ६०० बोट ड्रागन फल खेती गरिरहेको र उक्त खेतीबाट बार्षिक १५ देखि १६ लाखसम्म आम्दानी हुने मुख्यमन्त्री शर्माको सम्पत्ति विवरणमा उल्लेख छ । कर्णालीका अन्य मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गरेका छैनन ।