कर्णालीमा एमालेले थापेको ढोक्सामा काँग्रेस, माओवादीलाई सकस

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रवार दोस्रोपटक विश्वासको मत लिए । मुख्यमन्त्री शर्माले विश्वासको मत लिदा संसदको झण्डै शतप्रतिशत विश्वासको मत पाए । यति बेला कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा अहिले तीन दलको दबावमा परेका छन् ।

यस्तै, संघ सरकारबाट बाहिरिएको नेकपा एमाले प्रदेश सरकारका सन्दर्भमा लचिलो देखिएपछि कर्णालीमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले नयाँ सन्देश दिन खोजेको त छैन भन्दै विभिन्न चर्जापरिचर्चा समेत भैरहेका छन् । सरकारबाट एमाले नबाहिरिँदै मुख्यमन्त्रीलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि एमालेलाई सरकारबाट बाहिरिने या बसिराख्ने भन्ने गम्भीर अवस्था  को सिर्जना भएको छ । तरपनि, एमालेका मन्त्रीहरुले माओवादी र एमालेबीच कर्णाली प्रदेशमा भएको सहमतिअनुसार एमाले सरकारबाट नबाहिरिने तर्क गर्ने गरेका छन् ।

केन्द्र र प्रदेशमा एमाले प्रतिपक्षमा बसेपनि कर्णाली प्रदेशसभा भने यतिबेला प्रतिपक्षविहीन भएको छ । मुख्यमन्त्री शर्माले केन्द्रमा भएको गठबन्धन बमोजिम कर्णालीमा पनि एमाले प्रतिपक्ष र कांग्रेसले समर्थन गर्ने अनुमान गरेका थिए । संविधान बमोजिम कर्णाली प्रदेश सरकारलाई राप्रपाले दिएको समर्थन केही समयअघि फिर्ता लिएसंगै मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिएका थिए ।

यता, मुख्यमन्त्री शर्मालाई भने आगामी यात्रा कसरी तय गर्ने भन्नेमा सकस परेको छ । शर्मालाई कर्णालीको ठुलो दल नेपाली काँग्रेस र एमालेले विश्वासको मत दिएका छन् । एमाले सरकारबाट नबाहिएको हुँदा, काँग्रेस र माओवादीले मिलेर कर्णाली सरकार चलाउने आन्तरिक गृहकार्य चलिरहेको हुनसकने आंकलन गर्ने सकिन्छ ।

तर, कर्णालीमा एमालले ‘ढोस्सा’ थापेको छ । कांग्रेसले भने एमाले तत्काल सरकारबाट बाहिरिएको भए सत्तारोहण गर्न पाईन्थ्यो भन्ने थियो । तर, त्यसको ठिक उल्टो भएको छ । एमालेले भने सत्तामै ‘ढोस्सा’ थापिरहन खोजेको जस्तो देखिन्छ । केहीसमय अघि माओवादीको व्यवहारमा सत्ता सहकार्य निर्भर रहेको एमालेले केन्द्रमा भएको सहमति अनुसार जाने माओवादीको निर्णय आईसक्दा पनि एमाले अझै माओवादीको व्यवहारमा अड्किएको छ ।

पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भने चुनावताका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले मुख्यमन्त्री बनाउने बचन दिएको र सोही अनुसार आफू प्रदेशमा लडेको भन्दै नेताहरुले दिएको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । कांग्रेस संसदीय दलका नेता शाहीले पुनः मुख्यमन्त्री बन्नका लागि एमालेलाई सरकारबाट हटाउने रणनीति अख्तियार गरिरहेकै बेला एमालेले भने ढोक्सा थापेर बसेको छ । एमाले प्रतिपक्षमा पुग्ने र कांग्रेस सरकारको नेतृत्वमा पुग्ने देखिएपनि एमालेको ढोक्सा थापाईले कर्णालीको राजनीतिले एकपटक तरङ्ग सिर्जना गरिदिएको छ ।

शाहीले वर्तमान सरकारमा एमालेले साथ नदिएर संकटको अबस्था देखिए सरकारलाई काँध थाप्ने दृढोक्ति गरेका थिए । मुख्यमन्त्री शर्मालाई नेकपा एमाले र कांग्रेस दुवैले विश्वासको मत दिएपछि प्रतिपक्षविहीन बनेको कर्णाली अब कसरी अगाडि बढ्छ भन्ने आम चासोको विषय बनेको छ ।

आफूहरू सरकारमै रहेकाले विश्वासको मत दिनु स्वभाविक भएको भन्दै आगामी दिनमा मुख्यमन्त्रीको व्यवहारमा नयाँ यात्रा तय हुने एमाले संसदीय दलका नेता यामलाल कँडेल बताउँछन् । यस्तै, एमालेका शिर्ष नेताहरुले भन्ने गरेको छन्, ‘सकेसम्म हामी सरकारबाट बाहिरिदैनौँ हामीलाई मुख्यमन्त्री शर्माले बाहिरिनुहोस भन्नुभएको छैन, मिलेर जाने पर्छ भन्नुभएको छ । बाँकी कुरा मुख्यमन्त्रीको व्यवहारमा भरपर्छ ।

यता, माओवादीले भने सकेसम्म तीनदल नै मिलेर जाने प्रयास गरिरहेको छ । सकेसम्म तीन दल नै मिलेर अगाडि जान्छौ, हामीलाई पद भन्दा पनि कर्णालीमा विकासमा रहेर काम गर्नु छ । त्यसैले एमाले र कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने प्रयत्न गर्ने छौँ । तर, भोलिका दिनमा एमालले के गर्छ फेरी त्यसमा पनि भर पर्छ कर्णाली प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी भने ।