माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार 

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमाली पुन मगरलाई प्रहरी सहायक हवल्दारले आफ्नै पेस्तोलबाट गोली प्रहार गरेका छन् । प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ ।

प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार प्रकाश पुन मगर गएराति नयाँ वर्ष मनाउन ७४ वर्षीया तिर्थमालीको निवासमा गएका थिए । तिर्थमाली नातामा उनको हजुरआमा हुन् । पारिवारिक जमघटको माहौलमा प्रकाशले तिर्थमालीलाई गोली प्रहार गरेर फरार भएका थिए ।

प्रहरी वृत्त मालिगाउँको टोलीले गएराति नै पेस्तोल बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानबाट १ राउण्ड फायर भएको देखिएको उपत्यका जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

चिनियाँ ‘टाइप–५४’ पेस्तोल भीआईपी सुरक्षामा खटिने प्रहरीहरूले प्रयोग गर्दै आएका छन् । सामान्य अवस्थामा सहायक हवल्दारले पेस्तोल बोक्न पाउँदैनन् । तर, भीआईपीको सुरक्षामा खटिएको हुनाले प्रकाशले पेस्तोल पाएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले जानकारी दिए ।

सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले बागडोलबाट पक्राउ गरेको छ । आरोपीलाई अहिले अनुसन्धानका लागि नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा लगिएको छ । पुनकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।