तिला नदीमा बेपत्ता भएका विश्वकर्माको खोजीकार्य जारी

कालीकोट । कालीकोटको तिला नदीमा बेपत्ता भएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझैं फेला परेका छैनन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका थिए ।

 

शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न गएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

 

गत जेठमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनको तर्फबाट जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका थिए । उनको स्थानीय र प्रहरीले शनिबारदेखि खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।