कर्णालीको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द

सुर्खेत । यतिबेला पशुवस्तुमा लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । यस रोगबाट कर्णालीका १० जिल्लामा करिब दुई लाख हाराहारीमा पशुवस्तु संक्रमित भएका छन् ।

यसैबीच लम्पी स्किन रोग नियन्त्रण गर्न लागिपरेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले प्रवाह गर्दै आएका सबै प्रकारका सेवाहरु बन्द गरेको छ । संघ सरकारको मातहतमा रहेको प्रयोगशालाका लागि चालू आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेट नछुट्याएपछि सेवाहरु बन्द गरेको प्रयोगशालाका सूचना अधिकारी डा: जीतेन्द्र श्रेष्ठले  जानकारी दिए ।

श्रेष्ठका अनुसार नेपालभरिका पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द भएको छ । संघीय सरकारबाट कर्णालीका १० जिल्ला र लुम्बिनी प्रदेशका ६ गरी १६ जिल्लाको जिम्मेवारी प्रयोगशालाले पाएको भए पनि प्रयोगशालाका लागि कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नगरेपछि सेवा बन्द गर्न बाध्य भएको उनको भनाइ छ ।

उनले भने, ‘खर्च नियमअनुसार अथवा दायित्वअनुसार कार्यालय प्रमुख र प्रयोगशालाका सम्पूर्ण कर्मचारीको हुने हुन्छ । हामीले पाउने तलब पनि अहिलेसम्म राखेको छैन । हाम्रो तलब र काम पनि के हुने हो भन्ने कुरामा अन्योलमा छौं । खालि हामी त फाजिलसरह भइसक्यौं ।’

संघ सरकारले चालू आर्थिक वर्षका लागि बजेट नपठाउँदा कर्णाली र लुम्बिनी प्रदेशका १६ जिल्लामा प्रवाह गरिँदै आएको सेवाबाहेक अन्य सम्पूर्ण सेवा सोमबारदेखि बन्द भएको छ ।

सोमबार पशुपन्छी रोग अन्वेषण प्रयोगशालाद्वारा जारी सूचनामा भनिएको छ, ‘आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार संस्थागत संरचना अन्योलताका कारण यस पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, वीरेन्द्रनगर सुर्खेतका लागि कुनै पनि शीर्षकमा कुनै पनि बजेटको व्यवस्था नरहेको हुँदा यस प्रयोगशालाबाट प्रवाह गरिने सबै प्रकारका सेवा मिति २०८० साउन १५ गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि प्रदान गर्न असमर्थ रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ । साथै सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालय परिवार क्षमाप्रार्थी छौं ।’

प्रयोगशालाले प्रवाह गर्ने सेवामा परजीवी पहिचान, प्याथोलोजी सेवा, माइक्रोबाइलोजी सेवा तथा मलिकुलर बाइलोजी सेवा प्रमुख हुन् । यसका साथै नियमित रोग सर्भिलेन्स, इपिडेमिक रोग अन्वेषण पनि नियमित रूपमा हुँदै आइरहेको छ ।

यस्तै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले यस विषयमा संघीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् । प्रदेशमा उक्त प्रयोगशालाले बर्ड फ्लु जस्ता महामारी रोग निदान भई रोग नियन्त्रण कार्यमा सहयोग गरेको जनाए ।

संघीय सरकारले बजेट व्यवस्थापन नगरेको र अब प्रदेश समन्वय परिषद्को बैठक बसेर यस विषयमा छलफल गरिने मन्त्री शर्माले जानकारी दिए ।