दैलेखमा ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद

सुर्खेत । जिल्ला अदालत दैलेखले ९ वर्षीय बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद सुनाएको छ । सोमबार अदालतले बालिका बलात्कार अभियोगमा ८६ वर्षीय प्रजापति रेग्मीलाई जन्मकैद सजाय सुनाएको हो ।

न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका ८ ढकाने दैलेखका ८६ वर्षीय रेग्मीले बालिकालाई बलात्कार गरेको ठहर गर्दै सजाय सुनाएको दैलेख जिल्ला अदालत सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

उक्त कसूरमा रेग्मीलाई जन्मकैद, सात लाख रुपैयाँ जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको सूचना अधिकारी उपाध्यायले बताए ।

उनका अनुसार बालिकालाई बलात्कार गरेको आरोपमा रेग्मी २०७९ चैतमा पक्राउ परेका थिए ।

उनले भने, ‘२०७९ साल चैतमा प्रहरीले प्रकाउ गरेको थियो । चैत २३ गते हस्पिटलबाट रिपोर्ट आउदा बालिकालाई बलात्कार गरेको पुष्टि भएको थियो । त्यहीअनुसार रेग्मीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०८० वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी अभियोग दर्ता गरेको थियो ।’

मुलुकी अपराध सहिंता २०७४ को दफा २१९ को उपदफा ३ मा पीडितको उमेरअनुसारको कैद सजाय हुने र यदि १० वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे जन्मकैद हुने उल्लेख गरिएको छ ।