कर्णाली एमालेमा उपसचिवको विवाद समाधान

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश कमिटीमा उपसचिव पदका लागि भइरहेको विवाद समाधान भएको छ । सोमबार पद्मा खड्काले उपसचिवको शपथ लिएसँगै विवाद समाधान भएको हो ।


कर्णाली प्रदेश कमिटीको पहिलो अधिवेशन गत असोज १०–१५ गते सम्पन्न भएको थियो । अधिवेशनबाट उपसचिवमा समावेशी उपसचिव निर्वाचित हुनुपर्ने भए पनि दुई उपसचिव पदमा पुरुष मात्र निर्वाचित भएका थिए ।

जसमा उपसचिव पदका लागि दुई महिलासहित नौ जनाको उम्मेदवारी परेको थियो । सबैभन्दा धेरै मत दैलेखका रवीन्द्रराज शर्मा र कालिकोटका रमेशकुमार शाहीले ल्याएका थिए ।

साथै, उपसचिवमा उम्मेदवार बनेका ९ जनामध्ये सुर्खेतकी पद्मा खड्का र जुम्लाकी मेनका पछाईं पनि थिए । उक्त पदका उम्मेदवारमध्ये पुरुषतर्फ सबैभन्दा बढी मत शर्मा र त्यसपछि शाहीको प्राप्त गरेका थिए भने महिला तर्फ खड्काले बढी मत प्राप्त गरेकी थिइन् ।

तर, अहिले उपसचिव रमेशकुमार शाही कि पद्मा खड्का भन्ने विषयमा विवाद हुँदै आइरहेको थियो ।

शुक्रवार एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली कमिटीको पहिलो बैठक उद्घाटन गर्न सुर्खेत पुगेका थिए । तर, उक्त विवादका कारण बैठक बस्न नसकेर काठमाडौं फर्किएका थिए ।

काठमाडौं फर्किनुअघि सुर्खेतमा अध्यक्ष ओलीले खड्का नै उपसचिवमा निर्वाचित भएको बताएका थिए । साथै, विवादको पनि समस्याको समाधान भएको जानकारी दिएका थिए । ओली काठमाडौं फर्किएको तीन दिनपछि खड्काले उपसचिवमा शपथ ग्रहण गरेकी हुन् ।