विषयगत शिक्षक नहुँदा विद्यार्थीको भविष्य अन्योलमा

सुर्खेत । जाजरकोटको जुनिचादे गाउँपालिका-१० मा रहेको श्री माध्यामिक विद्यालय शीर्षाचौरमा शिक्षकहरूको लापरबाहीले विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ ।


प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)बाट सम्बन्धन प्राप्त डिप्लोमा तथा प्रि-डिप्लोपमा तह कृषि र भेटेरीनी कक्षा संचालन गर्दै आएको विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो ।

उक्त विद्यालयमा पालिका स्रोतबाट २ जना, निजी स्रोत २ जना र पाटटाइम २ जना शिक्षक रहेका छन् । तर, रसायन विज्ञान, भौतिकशास्त्र विज्ञान र गणित बिषयका शिक्षक रिक्त रहेका छन् ।

विद्यालयका ६ जना शिक्षक भएपनि सबै शिक्षकहरु नियमित कार्यालय नआउने गरेको विद्यार्थीले बताउने गरेका छन् । विद्यालयमा गुणस्तरीय पढाइ नहुँदा विद्यार्थीहरु पनि आक्रोशित भएका छन् । शिक्षकहरूको लापरबाहीका कारण आफ्नो भविष्य अन्योलमा रहेको विद्यार्थी रविना विकको भनाइ छ ।

विद्यालयमा गुणस्तरीय पढाइ मात्रै नभएर खानेपानी र शौचालय पनि नभएको उनले भनाइ छ ।

‘आफ्नो भविष्य बनाउनु छ यहाँ यसरी बसेर काम छैन,’उनले भनिन्,’पढाइ छैन् । हामी टाढा बाट आएको कोठा भाडा मात्रै तिर्नुपर्छ । घरबेटीले एउटा बोइलर देउ तिम्रो टिचरले यहीँ पढाइ दिनुहुन्छ भन्नूहुन्छ । हामीलाई सिटिईभिटी बढाउने शिक्षक चाहिएको छ । प्राथमिक तहका शिक्षकले हामीलाई पढाउनु हुन्छ । सधैं यसरी बस्न सकिँदन फोन गर्नका लागि पुल पारि जानू पर्छ । हामी एक महिनासम्म पढ्नका लागि मोवाइलको बत्ती बालेर पढेको हो। हाम्रो भविष्य बनाउन पढ्न आएको हौ‌ं। यदि बेला हाम्रो भविष्य अन्योलमा परेको छ । हामीलाई कि अन्यत्र सार्दिनु पर्यो ।,’

विद्यालयको झ्याल ढोका नहुँदा चिसोका कारण पढनलाई पनि अप्ठ्यारो हुने गरेको विद्यार्थीले बताउने गरेका छन् ।

एउटा शौचालय भएपनि प्रयोगबिहिन रहेको स्थानीयको भनाइ छ। विद्यालयका कर्मचारी र विद्यार्थीका लागि एउटा शौचालय छ । तर, फोहोर र ढोका नहुँदा विद्यार्थी शौचालयका लागि आफू बस्ने कोठामा दौडिन बाध्य रहेको स्थानीयले बताउने गरेका छन् ।

श्री माध्यामिक विद्यालयका प्रधानाध्यापक नैनबहादुर बस्नेतले फिजिक्स, क्यामिस्ट्रि र गणित पढाउने शिक्षकको खोजिमा रहेका बताएका छन् । यी बिषय बाहेक अन्य बिषय पढाइ भइरहेको जानकारी दिएका छन् ।

तलब व्यवस्थापन र विद्यार्थी संख्याको कमीले शिक्षकलाई टिकाउ गार्‍हो पर्ने गरेको प्रधानाध्यापक बस्नेतले बताए । उनले भने,’ फिजिक्स, क्यामिस्ट्रि र गणित बिषय हेर्ने गरेर एउटा शिक्षकको खोजीमा छु । विद्यार्थीले भनेका कुरा यथार्थ हुन् झुटो होइनन्। दुर्गम ठाउँ र भौगोलिक विकटताका कारण पनि हामीले पनि केही समस्या भोग्नु परेको छ । अब हामीबाट गल्ती भएका कुराहरु हामी सुधारमा लागि पर्ने छौं ।’

जुनिचादे गाउँपालिका अध्यक्ष बेदबहादुर शाहीका अनुसार उक्त विद्यालयमा सामान्य लापरबाही गरेको पाइएको बताएका छन् । विद्यालयको लापरबाहीका कारण विद्यार्थीले भोग्नु परेको अवस्थाको समस्याको समाधान छिट्टै गर्ने अध्यक्ष शाहीले भने,ञ नियमित रुपमा पढनपाढन गर्नका लागि पालिकाबाट विद्यालयलाई ताकेता गरेको छौं ।,सीटीईभीटी अन्तर्गत उक्त विद्यालयमा डिप्लोमा र प्रि-डिप्लोपमा तह कृषिमा २० जना र भेटेरनरीमा ६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।