त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आफ्नै भवनमा

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित नवनिर्मित भवनमा सरेको छ ।


बुधवार त्रिविका कार्यवाहक उपकुलपति प्रा. डा शिवलाल भुसालले विभाग परिसरमा भवनको उद्घाटन गरेका छन् ।

विश्वविद्यालयले २०३१ सालमा प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिताको अध्ययन अध्यापन सुरु गरेको थियो ।

भवनभित्र सुविधायुक्त कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टूडिओ, टेलिभिजन स्टूडिओ, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि प्राध्यापक आवासलगायत रहेका छन् ।

त्रिविले २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि र २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।

भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लगतमा भवन निर्माण गरेको विभागका प्रमुख प्रा. चिरञ्जीवी खनालले जानकारी दिए ।