दैलेखमा चट्याङ लागेर तीन विद्यार्थी घाइते

सुर्खेत । दैलेखमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । बुधबार नौमुले गाउँपालिका-६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा दिउँसो परेकाे चट्याङले तीन जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा शिवशक्ति माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बिकास रावत, यामबहादुर चन्द र कक्षा ७ मा अध्ययनरत १२ वर्षीया लक्ष्मी गुरुङ रहेका छन् ।

दिउँसोकाे समयमा कक्षा काेठामा शिक्षकले पढाइ रहेकाे बेला चट्याङ परेकाे नाैमूले गाउँपालिकाका अध्यक्ष छबिराम सुबेदीले जानकारी दिए ।

घाइते रावतलाई थप उपचारकाे लागि जिल्ला अस्पताल दैलेखमा रिफर गरिएको अध्यक्ष सुबेदीले बताए ।

उनले भने,´ विद्यालयमा सरले पढाइ रहेकाे बेलामा चट्याङ परेकाे थियाे । विद्यार्थी बिकास रावतकाे देब्रे भागकाे कपडा सबै जलेकाे छ । थप उपचारकाे लागि जिल्ला अस्पतालमा रिफर गरिएको छ । रावतका बुवा साेही विद्यालयकाे प्रधानाध्यापक हुनुहुन्छ ।`

अध्यक्ष सुबेदीका अनुसार घाइते दुई जनाको प्राथमिक स्वास्थ्य केन्द्र नाैमूलेमा उपचार भइरहेको छ ।