उच्च अदालत सुर्खेतमा लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्यौट

सुर्खेत । उच्च अदालत सुर्खेतले वार्षिक लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । तीन आर्थिक वर्षमा लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्यौट भएका हुन्।


आर्थिक वर्ष २०७७÷०७८ मा ७३३ लगत मुद्दामा ६३.८४ प्रतिशत, आर्थिक वर्ष २०७८÷०७९ मा ९५८ वटा लगतमा ७४.३२ प्रतिशत, आर्थिक वर्ष ०७९÷०८० मा ८२.६५ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन्।

यस्तै, उच्च अदालत सुर्खेतले आर्थिक वर्ष २०८०÷०८१ मा दर्ता भएकामध्ये ७८.८४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । यस वर्षको वैशाख ३० गतेसम्म कुल ५१८ वटा मुद्दा फर्छ्यौट गरिएको उच्च अदालत सुर्खेत शाखा अधिकृत खेमराज तिमल्सिनाले जानकारीे दिएका छन् ।

वैशाख ३० गतेसम्म अदालतमा ८४९ वटा मुद्दा दर्ता भएको अधिकृत तिमल्सिनाले बताए । तीमध्ये जिम्मेवारी सरेर आएका १६० वटा मुद्दा अघिल्लो आर्थिक सरेर आएका हुन् ।

यस आर्थिक बर्षमा उच्च अदालत सुर्खेतमा ७४४ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । यस्तै, ६५७ वटा मुद्दा फछ्र्यौट गर्ने अनुमान गरिएको छ । यस वर्ष जिम्मेवारी सरेर आएका १३७ र नयाँ दर्ता भएका ३८१ वटा रहेका छन् । अदालतले कैफियत प्रतिवेदन तर्फ ७६ मध्ये ६९ वटा फर गरेको छ ।

यो वर्ष परेका ८५ रिट निवेदनमध्ये ५२ वटा फर्छ्यौट भएका छन् । यस्तै, ८५ वटा निवेदन सबै फर्छ्यौट भएको अधिकृत तिमल्सिनाले जानकारी दिएका छन् ।

उच्च अदालतमा रहेको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०\८१ को वैशाख ३० गतेसम्म जबर्जस्ती करणी सम्बन्धि मुद्दा १६४, कर्तव्य ज्यान, सवारी ज्यान, ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा ११३ वटा, लागुऔषध सम्बन्धि ५१ वटा, बहुविवाह तथा बालविवाह सम्बन्धि मुद्दा ४७ वटा र सम्बन्धविच्छेदका मुद्दा १६ वटा दर्ता भएका छन् ।