कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु, पाँच जना घाइते

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेकाे बाेलेराे जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु र पाँच जना घाइते भएका छन् । बिहीबार बिहान २ बजे भे १ च २५६० नम्बरको बोलेरो जिप रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाकाे मृत्यु र पाँच जना घाइते भएका हुन् ।

जिप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनका अनुसार जिप राति दुर्घटना भएपनि जानकारी नभएकाले अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको बताए ।

उनले भने,` राति जिप दुर्घटना भएछ । हामीलाई जानकारी नै भएन । बिहानै मात्रै थाहा भएको हुँदा प्रहरी घटनास्थल पुगेर उद्वार भइरहेको छ । जिप के कसरी दुर्घटना भयाे भन्नेर अहिले नै भन्न सकिन्न । गाडी भिरमा छ धेरै टाढा छ । रातिकाे समय र घुम्तीहरु धेरै भएको कारणले पनि घटना भएकाे हाेकि भन्ने छ ।`

जिपमा सवारकाे संख्या १० जना अनुमान गरिएको उनकाे भनाइ छ । दुईजना मृतक शव सडक ल्याइएको बाँकी दुई शव ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । बाँकीको खोजी कार्य पनि भइरहेको उनले बताए ।