४९ वर्षीया महिला र २३ वर्षीय युवाबीच प्रेम, विवाह गर्न आग्रह गर्दा हत्या

सुर्खेत । रुकुम पश्चिममा प्रेम सम्बन्धमा रहेकी माताले विवाह गर्न दबाब दिएपछि भक्तले माताकै हत्या गरेका छन् ।

प्रहरीका अनुसार रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ११ माथिल्लो सकेंनाका २३ वर्षीय प्रेम मल्ल र सानीभेरी गाउँपालिका- ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्ल आफूहरुको प्रेम सम्बन्ध लुकाउन ‘भक्त’ र ‘माता’ बनेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोख्रेलले सुशीला र प्रेमबीच प्रेम रहेको र आफूहरुकाे मायाप्रेमलाई विवाहमा परिणत गर्न दबाब दिएपछि प्रेमले सुशीलाको हत्या गरेको देखिएको बताए ।

उनका अनुसार मृतक सुशीला ‘माता र प्रेम ‘भक्त’का रुपमा भेटघाट हुने गरेको अनुसन्धानमा खुलेको छ ।

रुकुम पश्चिम प्रहरीले सुशीलाको हत्या आरोपमा आइतबार प्रेमलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सुशीला र प्रेमबीच डेढ वर्ष अगाडिबाट मायाप्रेम रहेको डीएसपी पोख्रेलले जानकारी दिए ।

‘गत शुक्रबार सुशीला आफ्नै घरमा मृत अवस्थामा फेला परेकाी थिइन्’, डीएसपी पोख्रेलले भने, ‘घाँटीमा सल बेरिएको अवस्थामा घाँटी, निधार र अन्य शरीरको भागमा चोटपटक लागेको अवस्थामा उनको शव भेटिएको हो ।’

उनका अनुसार साउन २१ गते सोमबार प्रेम भेटघाटका लागि सुशीलाको घरमा आएको अनुसन्धानबाट खुलेको छ । उक्त दिनको राति दुवै जना सँगै बसेको र साउन २२ गते मंगलबार रिम्ना बजार गएर घुमेको पाइएको उनले बताए ।

‘सुशीलाले प्रेमलाई आफूहरुको सम्बन्धबारे घरमा र गाउँघरका मानिसहरुले थाहा पाएकाले विवाह गर्न भनेको प्रेमले विवाह नगर्ने भनेर बताएका थिए’, डीएसपी पोख्रेलले भने, ‘यही कारणले प्रेमले विवाह अस्वीकार गरेर सुशीलाको घाँटी थिची, फलामको तावा, सिलौटो, लोरा, चम्चासमेतको घरेलु औजारले प्रहार गरी हत्या गरेको भेटिएको हो ।’

घटनापछि प्रेमले मृतक सुशीलाको मोबाइल आफ्नोको कोठामा लुकाइराखेको अवस्थामा बरामद भएको उनको भनाइ छ ।

प्रेमविरुद्ध कर्तव्य ज्यान मुद्दामा रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको डीएसपी पोख्रेलले जानकारी दिए ।