सुर्खेत। कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कर्णाली प्रदेश सभामा आयोजित महिला अधिकार र लैङ्गिक समानता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा महिलाको सामाजिक, राजनीतिक, शैक्षिक र आर्थिक सशक्तिकरणको लागि निरन्तर प्रयास गर्नुपर्ने बताइन्।
उनले महिलाहरूको अग्राधिकार स्थापित गर्दै लैङ्गिक समानताको बलियो आधार निर्माणका लागि सबैलाई सक्रियतापूर्वक लाग्न आग्रह गरिन्।
समाजमा कुनै पनि व्यक्तिले विभेद जस्ता समस्या भोग्नु नपरोस् भन्नेमा हामी सबै सचेत बन्नुपर्दछ,`सभामुख गुरुङले भनिन्।
साथै, महिलाको समान अधिकार र अवसरको लागि सबैलाई एकजुट भएर काम गर्न आह्वान गर्दै उनले भनिन्,`समाजमा महिलाको पहिचान, प्रतिनिधित्व र पहुँच सुनिश्चित गर्न आवश्यक छ। हामीले असमानता र लैङ्गिक विभेदको अन्त्यका लागि संघर्ष जारी राख्नु पर्छ।`
कर्णाली प्रदेश सभाका उपसभामुख यसाेदा न्याैपानेले पनि महिलाका अधिकार र लैङ्गिक समानताका सम्बन्धमा विभिन्न सन्धी र कानूनी व्यवस्था पर्याप्त मात्रामा रहेको भए तापनि कार्यान्वयन सन्तोषजनक नरेकाे बताइन् ।

नेपाल जस्तो विकासोन्मुख राष्ट्रको दुर्गम क्षेत्रमा महिलाको अवस्था पुरुषको दाँजोमा निकै कमजोर छ उनले भनिन्,` नीति निर्माण, प्रशासनिक नेतृत्व र न्यायिक क्षेत्रमा महिलाको सहभागिता अझै पनि न्यून छ।`
नेपालको सन्दर्भमा ५१ प्रतिशत महिलाको जनसंख्या रहेको भए तापनि प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा महिलाको सहभागिता क्रमशः ३३ दशमलव ६ प्रतिशत, ३४ दशमलव ५ प्रतिशत र ४० दशमलव ९ प्रतिशत रहेको उपसभामुख न्याैपाले बताइन्।
घरेलु हिंसा, लैङ्गिक हिंसा, न्यून साक्षरता र आर्थिक विपन्नताजस्ता अवस्थाले महिलालाई समाजको विद्यमान अवस्थाबाट माथि उकास्न अवरोध सिर्जना गरेको उनको भनाइ छ।
तथापि, केही वर्ष पहिलेको तुलनामा अहिले महिलाको अवस्था विभिन्न क्षेत्रमा सुधार भएको छ। यसलाई थप सुधार गर्न कानून, व्यवहार र नैतिक पक्षमा सुधार गर्नु आवश्यक भएको उपसभामुख न्याैपानेले बताइन् ।
कार्यक्रममा कर्णाली प्रदेशका महिला मन्त्री, प्रदेश सभा सदस्य, विभिन्न राजनीतिक दलका महिला प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार, महिला अधिकारकर्मी, संघसंस्था प्रमुख र विश्वविद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

ए.के. सञ्चार । २२ फाल्गुन २०८१, बिहीबार २३:३४