२०८२ असार ८ , आइतबार

वीरेन्द्रनगर र एमयूबीच चार वर्षे सहकार्य, स्थानीय विकास र शिक्षामा जोड



सुर्खेत । वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच सामुदायिक विकास, शिक्षा र सीप प्रवर्द्धनमा मिलेर काम गर्ने सम्झौता भएको छ।

नगर प्रमुख मोहनमाया ढकाल र विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार, वैकल्पिक उर्जा, वातावरण सुधार, स्थानीय ज्ञान र सीपको प्रवर्द्धन, सामाजिक जनचेतना, तालिम, गोष्ठी, उद्यमशीलता जस्ता कार्यक्रममा सहकार्य गरिनेछ।

नगर प्रमुख ढकालले नगरबासीका आवश्यकता बुझेर दीर्घकालीन सहकार्य अगाडि बढाइएको बताइन्। उनले भनिन्,`शिक्षा र अनुसन्धानमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने हाम्रो उद्देश्य हो।

सम्झौतामा स्रोत, सूचना, पुस्तकालय, मानव संशाधन, तथ्यांक आदानप्रदान, छात्रवृत्तिको व्यवस्था र स्थानीय संस्कृतिको प्रवर्द्धन पनि समेटिएको छ।

दुवै पक्षको सहमति अनुसार आवश्यक कार्यक्रम विश्वविद्यालय अन्तर्गतका निकायमार्फत सञ्चालन गरिनेछ। सम्झौता चार वर्षका लागि हुनेछ, र आवश्यक परेमा थप नवीकरण गर्न सकिनेछ।

यसैबीच, विश्वविद्यालयले आफ्नो १५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ। कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ असार ३ गते मंगलबार