वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब बढीको बजेट



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब बढीको बजेट ल्याएको छ ।

आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ७१ करोड २ लाख ७२ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । नगरपालिकाको १९ औं नगरसभा बैठकमा उपप्रमुख नीलकण्ठ खनालले उक्त बजेट प्रस्तुत गरेका हुन्।

जुन बजेट चालु आर्थिक वर्षको तुलनामा ३२ करोड ७५ लाखले बढी हो । चालु आर्थिक वर्षका लागि ४ अर्ब ३८ करोडको बजेट ल्याइएको थियो ।

आगामी वर्षका लागि उपप्रमुख खनालले प्रस्तुत गरेको कुल बजेटमध्ये ६४ प्रतिशत हिस्सा अर्थात् ३ अर्ब २ करोड ७० लाख रुपैयाँ विकासतर्फ (पुँजीगत) विनियोजन गरिएको छ भने चालुतर्फ १ अर्ब ६८ करोड ३१ लाख विनियोजन गरिएको छ । 

खर्च बेहोर्ने स्रोतमा सङ्घीय वित्तीय समानीकरण अनुदानबाट २४ करोड ६० लाख, सङ्घीय सशर्त अनुदानबाट २ अर्ब ६७ करोड ९६ लाख, सङ्घीय राजस्व बाँडफाँट २१ करोड ३६ लाख ४७ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ३ करोड ५३ लाख ३५ हजार, प्रदेश सशर्त अनुदानबाट  ५० करोड ३५ लाख ७२ हजार र प्रदेश राजस्व बाँडफाँट ४४ लाख ११ हजार राखिएको छ ।

यस्तै, सङ्घीय तथा प्रदेशको समपूरक विशेष अनुदान ४ करोड ५९ लाख, स्थानीय राजस्व बाँडफाँट १८ करोड तथा नगरपालिकाको आन्तरिक आयबाट ३३ करोड ६ लाख ६५ हजार रुपैयाँ खर्च बेहोर्ने स्रोतमा राखिएको छ ।

यसैगरी, यस्तै, चालु आर्थिक वर्षको बचत रकमबाट ३ करोड ९३ लाख ५७ हजार र सामाजिक सुरक्षा अनुदानबाट ३४ करोड खर्च बेहोरिने उपप्रमुख खनालले जानकारी दिए 

आगामी बजेट शीर्षकगत कार्यक्रम अन्तर्गत खर्चतर्फ तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्द्धन कार्यक्रमअन्तर्गत भेरी पम्पिङ आयोजना सञ्चालनका लागि १८ करोड छुट्याइएको छ।

वडास्तरीय योजना तथा कार्यक्रमका लागि १६ करोड ६७ लाख र शाखागत नगरस्तरीय आयोजना तथा कार्यक्रम सञ्चालनका लागि १४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

सामाजिक सुरक्षा कार्यक्रमका लागि ४३ करोड छुट्याइएको छ भने संघीय तथा प्रदेश सशर्तसहित नगरस्तरीय क्षेत्रगत कार्यक्रम सञ्चालनका लागि ३ अर्ब ४४ करोड ८५ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ६८ करोड ३१ लाख ८९ हजार २ सय रुपैयाँ (३६ प्रतिशत) र पूँजीगत खर्चतर्फ ३ अर्ब २ करोड ७० लाख ८२ हजार ८ सय रुपैयाँ (६४ प्रतिशत) विनियोजन गरिएको उपप्रमुख खनालले बताए ।

सभामा नगरप्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार