कालीकोटका ९ स्थानीय तहले ल्याए ४ अर्ब ५५ करोडको बजेट



कालीकोट । कालीकोट जिल्लाका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र पचालझरना गाउँपालिकाले असार १० गतेअघि नै नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् भने बाँकी छ स्थानीय तहले असार १० गते एकैसाथ बजेट ल्याएका हुन् ।

नौवटै स्थानीय तहको कुल बजेट ४ अर्ब ५५ करोड ६ लाख ३२ हजार २२६ रुपियाँ रहेको छ ।

रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ६७ लाख ५१ हजार रुपियाँको बजेट ल्याएको छ । नगर उपप्रमुख मनिराज बरालले प्रस्तुत गरेकाे बजेटमा चालुतर्फ ३४ करोड ८१ लाख १ हजार रुपियाँ र पुँजीगततर्फ २१ करोड ८६ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ ।

सान्नीत्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड २६ लाख २५ हजार ९४७ रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष पार्वतीसिंह सज्यालले प्रस्तुत गर्नुभएको बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने बताउनुभयो । चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च हुन नसकेको रकम नियमानुसार समायोजन गरिने जानकारी पनि उनले बताए ।

पचालझरना गाउँपालिकाले ४१ करोड ४४ लाख ७७ हजार ५४३ रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष अल्कीना बम सेजुवालले बजेट प्रस्तुत गर्दै विकास निर्माण, सेवा प्रवाह तथा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए।

जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश शाहीले आगामी वर्षका लागि ५७ करोड ३७ लाख १६ हजार रुपियाँको बजेट सार्वजनिक गरिएको बताए।

तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीका अनुसार यस पालिकाको कुल बजेट ६५ करोड ७४ लाख ३७ हजार २०५ रुपियाँ सार्वजनिक गरिएको छ ।

शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाईंले आगामी वर्षका लागि ४० करोड ८८ लाख ३६ हजार ३६ रुपियाँको बजेट सभामा प्रस्तुत भएको बताए।

नरहरीनाथ गाउँपालिकाका सूचना प्रविधि अधिकृत भरतकुमार कठायतले ६१ करोड ५९ लाख ५९ हजार ७०२ रुपियाँको बजेट सभामार्फत प्रस्तुत भएको जानकारी दिए ।

सबैभन्दा सानो स्थानीय तह महावै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले ३७ करोड ३८ लाख ३५ हजार ५०२ रुपियाँको बजेट सभामा प्रस्तुत गरिएको जानकारी दिनुभयो । पलाँता गाउँपालिकाले ४९ करोड ६९ लाख ९३ हजार ९१ रुपियाँको बजेट ल्याएको छ ।

यस वर्ष महावै गाउँपालिकाले शिक्षा र स्वास्थ्य केन्द्रित बजेट ल्याएको उपाध्यक्ष सेजुवालले बताए। नौवटै स्थानीय तहका नीति तथा कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी र भौतिक पूर्वाधारलाई प्राथमिकता दिइए पनि उल्लेखनीय नयाँ कार्यक्रम भने समावेश नभएको देखिन्छ ।

संविधान तथा प्रचलित कानुनी व्यवस्थाअनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसक्नुपर्ने व्यवस्था भएअनुसार स्थानीय तहले ‘डल्लो बजेट’ प्रस्तुत गरे पनि अब बस्ने सभाले क्षेत्रगत योजनागत बाँडफाँट गर्ने चलन रहेको छ ।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार