रुकुमपूर्वका छ जना उम्मेदवारले बुझाए खर्च विवरण

रुकुमपूर्व। प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार भएका छ जनाले खर्च विवरण बुझाएका छन् । मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार भएका छ जनाले खर्च विवरण बुझाएका हुन्

प्रतिनिधि सभाका छ र प्रदेश सभाका १२ जना गरी कुल १८ जना उम्मेदवार रहेकोमा अहिलेसम्म छ जनाले जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च बुझाएका छन् । अब १२ जनाले निर्वाचन खर्च बुझाउन बाँकी रहेको छ ।

निर्वाचन खर्च बुझाउनेमा प्रतिनिधि सभाका तीन जना र प्रदेश सभाका तीन जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार प्रतिनिधि सभातर्फ नेकपा एमालेका कैलाशकुमार मल्ल, राप्रपाका खिमबहादुर खत्री र नेश्नलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले खर्च विवरण बुझाएका हुन्।

एमालेका मल्लको खर्च तीन लाख ८६ हजार पाँच सय ८५, राप्रपाका खत्रीको एक लाख २५ हजार ४० र नेश्नलिष्ट पिपल्सका बुढाको खर्च दुई लाख ४६ हजार ४० रुपियाँ रहेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए । त्यस्तै प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीले मात्र खर्च विवरण बुझाउनु भएको ओलीले बताए ओलीको चुनाव खर्च १८ लाख ९५ हजार ७१५ रुपियाँ रहेको निर्वाचन अधिकारी ओलीको भनाइ छ ।

प्रदेश सभा निर्वाचन ख बाट दुई जनाले मात्र खर्च विवरण बुझाएका छन् । खर्च विवरण बुझाउनेमा नेपाली कांग्रेसबाट निर्वाचित धनबहादुर केसी र नेकपा एमालेका उम्मेदवार भावना बुढाथोकी रहेका छन्। निर्वाचनमा विजय हासिल गरेका केसीले आफ्नो चुनाव खर्च १३ लाख दुई हजार ५२७ रुपैयाँ रहेको विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेका उम्मेदवार बुढाथोकीले आफ्नो खर्च तीन लाख ६० हजार ४५ रुपियाँ रहेको विवरण बुझाएका छन्। निर्वाचन आयोगले रुकुमपूर्व प्रतिनिधि सभातर्फ बढीमा २७ लाख र प्रदेश सभा क मा १९ लाख तथा प्रदेश सभा (ख) मा १७ लाख रुपियाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।

एक प्रतिनिधि र दुई प्रदेश सभा रहेको रुकुमपूर्वमा कुल १८ जना उम्मेदवार रहेकामा अब १२ जनाले खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वले जनाएको छ । खर्च विवरण बुझाउन बाँकी मध्ये प्रतिनिधि सभा सदस्यमा निर्वाचित (नेकपा माओवादी केन्द्र) का पूर्णबहादुर घर्तीमगर र प्रदेश सभा (क) मा निर्वाचित स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर लगायत छन् । चुनाव लडेका उम्मेदवारले अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिन भित्र चुनाव खर्च निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।