दुई छोरीले गरे बाबुको मृत्युपछि अन्त्येष्टी र काजकिरिया

लमजुङ । लमजुङकाे बेसीसहर नगरपालिका-३ बाहुनबेसीस्थित एक परिवारका दुई छोरीहरुले आफ्नो बाबुको मृत्युपछि अन्त्येष्टीसँगै १३ दिनसम्म काजकिरिया गरि मृत्यु संस्कार पुरा गरेका छन् ।

१८ मंसिरमा बाहुनबेसीका ४७ वर्षीय पदम घिमिरेको मृत्यु भएपछि उनका छोरीहरूले दागबत्ती दिएर दाहासंस्कार गर्नुका साथै हिन्दु संस्कार अनुसार १३औं दिनसम्म काजकिरिया गरेर बाबाको मृत्यु संस्कार उम्काएका हुन् ।

२१ वर्षीया पुनम र १९ वर्षीया पवनाले बाबाको काजकिरिया गरेका हुन् । दिदी पुनम बिएड् प्रथम बर्षमा र बहिनी पवना १२ कक्षामा अध्यनरत् रहेको छिमेकी सृजना बरालले बताइन् । पोखरास्थित मामाघरमा बसेर अध्ययन गरेको उनले बताइन् । अहिले पनि उनीहरूका काकारकाकी, छरछिमेकी र मावलीको सहयोगमा काजकिरिया र १३औँ दिनको संस्कार चलिरहेको बताइएको छ ।

हिन्दुसंस्कार अनुसार बाबाआमाको मृत्युपछि विधिवत् रुपमा छोराले दागबत्ती दिने, काजकिरिया गर्नेलगायतका अन्त्येष्टी कार्य गर्ने चलन भए पनि यहाँ छोरीहरूले काजकिरिया गरेको छिमेकी जिवि घिमिरेले बताए । छोरा नहुँदा अहिले पनि मृत्यु भएका परिवारका नजिकका जुठो, सुतक लाग्ने गोत्रीय भाई खलकका छोराहरुबाटै काजकिरिया गराउने र सो बापत आफूसक्दो धनसम्पत्ति, जग्गाजमिन वा सुनचाँदी जस्ता बहुमुल्य धातु दिने प्रचलन पनि रहेको छ ।

स्वर्गीय घिमिरेकी श्रीमती मृत्यु हुनु केहीदिन अघि मात्रै बैदेशिक रोजगारीका लागि दुवई गएको छिमेकीले बताएका छन् । वैदेशिक रोजगारी भए पनि राम्रो कमाई नभएकाले सो परिवारलाई यतिबेला मृत्यु संस्कार उम्काउन समेत निकै सकस परेको छिमेकीको भनाई छ।