कालीकोट । कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचाल झरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।
कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर बनेपछि बनेका बस्ती कर्णाली नदी किनारमा रहेकाले बाढी पहिरोको उच्च जोखिममा रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट बताएका छन् । नयाँ बस्ती नदी किनारमा भएका कारणले उच्च जोखिममा रहेका छन् ।
कर्णाली नदी र तिला नदीको किनार फेदमा रहेको जिते बजार र लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले ती बस्ती अयन्त्र सार्न धेरै प्रयास गर्दा पनि उनीहरुले नमानेको अध्यक्ष विष्टले बताए ।
२०७३ सालमा बाढी पहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको लिएको थियो । कालीकोटमा उच्च जोखिममा रहेका यी ठाउँका बजारवासी वर्षौँदेखि बसिरहेका कर्णाली करिडोरमा यातायात सञ्चालन भएपछि नदीको छेउछाउमा अहिले कयौँ ठाउँमा बजार बनेको नरहरिनाथ–१ लालीघाटका स्थानीय व्यापारी नेत्र विष्टले बताएका छन् ।
लालीघाट बजार र नदी किनारको दूरी पहिले २५ मिटर थियो तर नदीमा आइतवार हिजो रातिदेखि पानीको बहाव बढेर नदीको छालले बजार छोइसकेको छ ।
कालीकोटको पचाल झरना गाउँपालिकाको भुराबगर बजार पनि बाढी पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष खड्कराज बताएका छन् । जिल्लामा बाढी पहिरोको उच्च जोखिममा रहेका बस्ती तथा बजारहरु अन्यन्त्र सार्न आग्रह गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
कालीकोटमा गएको वर्षमा बाढी पहिरोमा परि ५३ जनाले ज्यान गुमाउनुका साथै करोडौँको धनमाल नष्ट भएको थियो । १ हजार घरपरिवार विस्थापित भएका थिए । यस वर्ष वर्षायाम सुरु भएयता बाढी पहिरोमा परेर तीन जनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
ए.के. सञ्चार । ११ श्रावण २०७८, सोमबार १२:१७