सुर्खेत । सुर्खेत जिल्ला भित्र अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक सुचना जारी गर्दै अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी सूचनामा प्रचलित कानून र मापदण्ड विपरीत अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुंगा, गिट्टी तथा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु तत्काल बन्द गर्न निर्देशन गरिएको छ ।
यस्तै, विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चलानमै रहेका उद्योगहरु बन्द गर्न व्यवसायीहरुलाई अनुरोध प्रशासनले गरेको छ ।
साथै प्रशासनले आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न उद्योग÷निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायलाई समेत यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ ।
प्रचलित कानुन बमोजिम सञ्चालनमा रहेका क्रसर उधोगहरुले योसँग सम्बन्धित कागजातहरु प्रशासनमा पेश गरी नियमानुसार सञ्चालन हुनसक्ने यदी अटेर गरे कानुन बमोजिम कारवाही हुने चेतावनी दिएको छ ।
ए.के. सञ्चार । २२ पुष २०७९, शुक्रबार १३:३६