प्राबिधिक सई हुँ भनी १६ जिल्लाका व्यक्तिलाई ठगी गर्ने पक्राउ

सुर्खेत । नेपाल प्रहरी बिधि बिज्ञान प्रयोगशालाको सई हुँ भनी बिभिन्न व्यक्तिलाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखले साेमबार परिक्षण प्रतिवेदन पठाइदिने र कारागारबाट आफन्त छुटाउने प्रलोभन देखाउदै रकम ठगी गर्नेलाई प्रकाउ गरेकाे हाे ।

प्रकाउ पर्नेमा बाँके राप्तीसोनारी गाँउपालिका वडा-७ का ३६ वर्षीया लोकबहादुर खाण र दैलेख गुराँस गाउँपालिका-६ का २७ वर्षीया बिकाश बिसी रहेका छन् ।

खाणले दैलेख, जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेह्रथुम, मोरङ, रोल्पा, सुर्खेत, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके लगायत १६ जिल्लाका व्यक्तिहरुलाई उनीहरुको आफन्तको बिभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परिक्षणको क्रममा संकलन भएको स्वाव परिक्षणको परीक्षण प्रतिवेदन चाँडो झिकाई मुद्दा मिलाएर छुटाई दिन्छु भनी आफ्नो नाम पुर्ण बहादुर देउवा, बिनोद खाण नाम बताउँदै आएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक सत्यनारायण चौधरीले जानकारी दिए ।

उनमा अनुसार हालसम्मको अनुसन्धानबाट बिभिन्न जिल्लाका १८ जना व्यक्तिहरुबाट मुद्दा मिलाई दिन्छु भनी  पाँच लाख छ हजार रुपैयाँ ठगी गरेको बताए ।

खाणले फाेनमा “म बिधि बिज्ञान प्रयोगशालाको प्राबिधिक प्रहरी नायव निरीक्षक (सई) हुँ, तपाईको परिक्षण प्रतिवेदन पठाई दिन्छु र तपाईको मान्छे कारागार कार्यालयबाट छुटाई दिन्छु” भनी आफ्नो आफन्त र चिनजानका ब्यक्तिहरुको खाता नम्बर दिएर सोही खातामा रुपैयाँ जम्मा गर्न लगाएको सूचना अधिकारी प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ बस्ने बर्ष ५१ कि तुल्सी अधिकारीले आफ्नाे छोरा खगेन्द्र अधिकारी जवरजस्ती करणी मुद्दामा दैलेख कारागारमा थुनामा रहेकोले छाेराकाे परीक्षण प्रतिवेदन छिटो पठाईदेलान भन्ने विश्वासमा परी छिमेकी भतिज केशव प्रसाद भट्टराईलाई ५८ हजार रुपैयाँ जम्मा गर्न पठाएको बताए ।

उनले भने,` २५ गते साेमबार बिहानको समयमा पुर्ण बहादुर देउवा नाम बताउने (वास्तविक नामथर लोक बहादुर खाण) ले म बिधि बिज्ञान प्रयोगशालाको प्राबिधिक प्रहरी नायव निरीक्षक (सई) हुँ, तपाईको छोराको परिक्षण प्रतिवेदन पठाई दिन्छु, तपाईले मेरो लेखापाल बिकास बिसीको एनएमवी बैकमा रुपियाँ जम्मा गरी दिनुहोस् भनेपछि मेरो छोराको उक्त परिक्षण प्रतिवेदन छिटो पठाईदेलान भन्ने विश्वासमा परी मैले उक्त खातामा छिमेकी भतिज केशव प्रसाद भट्टराईलाई नगद रकम ५८ हजार जम्मा गर्न पठाए । उनीहरुले उक्त परीक्षण प्रतिवेदन नपठाएर परिक्षण प्रतिवेदन पठाई दिन्छु भनि ठगी गरेका हुन् ।`

साेही घटनाको बारेमा अनुसन्धान गर्दै जाने क्रममा घटनामा संलग्न जिल्ला दैलेख गुराँस गाउँपालिका-६ का २७ वर्षीया बिकाश बिसीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटी गएको प्रहरी टोलीले प्रकाउ गरेको हाे ।

बिसीलाई प्रकाउ गर्न खाणकाे समन्वयमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले भदौ १८ गते राती जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-२ स्थित दशरथपुरबाट पक्राउ गरेकाे सूचना अधिकारी प्रहरी निरीक्षक चौधरीले बताए ।

उनीहरुलाई दैलेख जिल्ला अदालतबाट म्याद थपकाे अनुमति लिएर जिल्ला प्रहरी कार्यालय दैलेखकाे हिरासत कक्षमा राखी अनुसन्धान कार्य भईरहेको छ ।