सुर्खेत । वीरेन्द्रनगरमा रहेको नेपाली सेनाको श्री उत्तर पश्चिम पृतना हे.क्वा. निमारे व्यारेकमा सञ्चालित सैन्य आधार तालिमको बुधबार दिक्षान्त समारोह सम्पन्न भएको छ ।
गणमा सञ्चालन भएको सि.सं. ३ सैन्य आधार तालिमको दिक्षान्त समारोहमा ९७ जना सैन्यहरु सिपाहीमा दिक्षित भएका हुन् ।
दीक्षान्त समारोहमा प्रमुख अतिथि उत्तर पश्चिम पृतनाका पृतनापति उपरथि अनुपजङ्ग थापाले सैनिक जवानहरूलाई सेनाको व्यावसायिकता र पेशागत मर्यादाभित्र रही देशको सेवामा समर्पित भएर लाग्न निर्देशन दिए ।
साथै, उनले सैनिक अनुशासन, इमान्दारिता, र सेवाको महत्त्वलाई राख्न अनुरोध गरे । यसले सैनिक जवानहरूको मनोबल बढाउन र राष्ट्रप्रतिकाे कर्तव्यलाई अझ सुदृढ बनाउन मद्दत पुर्याउने धारणा व्यक्त गरे ।
उनले नौ महिने तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरूलाई बधाई तथा शुभकामना दिनुका साथै उनले प्रशिक्षण तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण गरेका थिए ।
पृतनापति थापाले नेपाली सेनाको मूल्य, मान्यता, र परम्परालाई निरन्तर सम्मान र पालन गर्दै सैनिकहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि राष्ट्र, जनता, र सेनाप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता रहेकाे बताए । उनले सेनाको गरिमा र ऐतिहासिक महत्त्वको चर्चा गर्दै मातृभूमिको सुरक्षा र रक्षामा सदैव सतर्क र तयार रहन सैनिकहरूलाई अनुरोध गरे ।
यस अवसरमा सी.सं. ३ सैन्य आधार तालिममा उत्कृष्ट हुन सफल छ जना सैनिक जवानलाई पुरस्कृत गरिएको थियो ।
सर्वोत्कृष्ट हुन सफल सैद्धान्तिक र व्यवहारिकतर्फ मनिका चाैधरी, ड्रिलफर्त बिना नाथ, १२ किलाेमिटर क्रसकन्ट्रीतर्फ रमिला बाेहाेरा, फायरिङ्गतर्फ हिमा महरा, ५ किलोमिटर शारीरिक सहिष्णुतातर्फ निर्मला रावत र युनिट फाइटिङतर्फ मनिसा चन्दले पुरस्कार प्राप्त गरेका हुन् । उनलाई पृतनापति थापाले पुरस्कृत गरेका थिए ।
दीक्षान्त समारोहस्थलमा दीक्षित भएका सिपाहीहरूका परिवारजनहरू फूलमालासहित बधाई र शुभकामना दिन पुगेका थिए। समारोहमा सुर्खेतका प्रमुख सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो।
यस्तै, रुकुमपश्चिमको नेपाली सेनाको श्री चण्डीदल गणमा सञ्चालित सि.सं. ६ सैन्य आधार तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ। उक्त तालिममा ७६ जना सैनिकहरू सिपाही पदमा दिक्षित भएका छन् ।
तस्बिरहरू :
ए.के. सञ्चार । १४ कार्तिक २०८१, बुधबार २२:०५