सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले पत्रकारिता क्षेत्र र व्यापार व्यवसाय अहिले संकटको घडीबाट गुज्रिरहेको बताए ।
सोमबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश तथा सुर्खेत जिल्लाको नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष कँडेलले समाजका लुकेका विषयहरूलाई उजागर गर्न पत्रकारिताको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका हुन् ।
उनले भने,`तपाईंहरूको प्रयासले कर्णाली प्रदेश र सुर्खेत जिल्लाको पहिचानलाई स्थापित गर्न सहयोग पुर्याएको छ। समग्र पत्रकारिता र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ। यसले दिगो आर्थिक विकास र समृद्धिको मार्ग प्रशस्त गर्न सक्छ।”
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
कँडेलले व्यवसायिक संस्थाहरू र पत्रकारिताबीच आपसी सहयोगको खाँचो औंल्याउँदै भने, “पत्रकारहरूको लेख र मिडियामार्फत उत्पादनहरूको ब्रान्डिङ भएको छ। यसले निजी क्षेत्रलाई मजबुत बनाउन मद्दत गरेको छ। हामीले पनि विज्ञापनलगायतका माध्यमबाट तपाईंहरूको प्रयासलाई निरन्तर समर्थन गर्ने छाैं।”
उनले नवनिर्वाचित टोलीलाई पूर्ण सफलताको शुभकामना दिँदै, निजी क्षेत्रबाट आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरे। “हामी सुर्खेत उद्योग वाणिज्य संघका तर्फबाट तपाईँहरूको कार्यलाई निरन्तर समर्थन गर्नेछौं। यो सहकार्यले सुर्खेतको दिगो आर्थिक विकासलाई बलियो बनाउनेछ,” उनले भने।
कार्यक्रममा कर्णाली प्रदेश र सुर्खेत जिल्लाको पत्रकार महासंघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
![](https://aksanchar.com/wp-content/uploads/2024/09/bulbule-Gift-Corneer.gif)
ए.के. सञ्चार । ८ पुष २०८१, सोमबार १२:३५