सुर्खेत । बाल विवाह न्युनिकरणमा पत्रकारको भुमिका विषयक अन्तरकृया कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष अप्सरा विष्टले बाल विवाहजस्तो सामाजिक कुप्रथाको अन्त्य गर्न पत्रकारको महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
मंगलबार आवाज संस्थामा आयाेजित उक्त कार्यक्रममा उपाध्यक्ष विष्टले पत्रकारिताकाे माध्यमबाट बाल विवाहकाे
समस्या पहिचान र जागरण अभियान, सरोकारवालासँग संवाद र दवाव सिर्जना, सकारात्मक परिवर्तनको उदाहरण प्रस्तुत गर्ने, कानुनी र अधिकारका विषयमा जनचेतना र चुनौतीहरू सामना गर्न भूमिका खेल्ने बताएकी हुन् ।
पत्रकारिताको प्रभावकारी प्रयोगबाट बाल विवाहजस्तो गम्भीर समस्या समाधान गर्न सकिन्छ उनले भनिन् ,` हामी सबैले हाम्रो कलम, क्यामेरा, र विचारलाई उपयोग गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन कटिबद्ध हुनुपर्छ ।`
पत्रकारिता आवाज विहीनहरूको आवाज रहेकाे पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले बताए । राज्यलाई जवाफदेही बनाउँदै सामाजिक परिवर्तनका लागि पत्रकारिताले महत्त्वपूर्ण भूमिका रहेको उनकाे भनाइ छ । कानुन र नीतिहरू कार्यान्वयनमा सामाजिक संस्कार र सोचले अवरोध पुऱ्याइरहेका छन् उनले भने,`यसलाई सचेतना र संवादमार्फत निराकरण गर्नुपर्ने आवश्यकता छ। पत्रकार महासंघले सामाजिक अभियानलाई अघि बढाउन नागरिक संस्थाहरूसँग सहकार्य गर्दै जिम्मेवारी बहन गर्नेछ।”
साथै, बाल विवाह न्यूनीकरणका लागि स्थानीय सरकारको अग्रसरता आवश्यक रहेकाे पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशील शर्माले बताए ।
उनले भने,`स्रोत लुकाउने प्रवृत्ति अझै कायम छ । जसले समस्या ज्यूँका त्यूँ राखेको छ। यसलाई हटाउन स्थानीय जनप्रतिनिधिहरू जिम्मेवार बन्नुपर्छ।”
न्याय नपाएका र समस्यामा परेकाहरूको पक्षमा आवाज उठाउँदै सकारात्मक परिवर्तनका लागि साझा प्रयास आवश्यक रहेकाे कर्णाली प्रदेश क्यानमाका संयाेजक पवित्रा शाहीले बताइन् ।
बाल विवाहजस्तो गम्भीर सामाजिक मुद्दामा समान बुझाइ र सहकार्य जरुरी छ उनले भनिन्,`बाल विवाहले हिंसा, गरिबी, र पछौटेपनलाई थप बल दिने भएकाले यसलाई अभियानका रूपमा अघि बढाउनुपर्छ। मानव विकासले मात्रै कर्णालीलाई समृद्ध बनाउन सक्छ।`
अक्षकोषको स्थापनाले बाल विवाह न्यूनीकरणका लागि प्रभावकारी कदम हुने अपेक्षा रहेकाे उनले बताइन् । जसले गर्दा अभियानलाई अझ सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरिन् ।
कार्यक्रममा प्रदेश र जिल्लाका नयाँ निर्वाचित कार्यसमितिहरुकाे उपस्थिति थियाे ।
ए.के. सञ्चार । १८ पुष २०८१, बिहीबार ०९:४०