२०८२ असार १२ , बिहीबार

कर्णालीमा औषधीय तथा सुगन्धित जडीबुटीको सम्भावना : कृषि संकायका विद्यार्थीको अध्ययन भ्रमण



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको ग्रयाजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेस्ट्री का विद्यार्थीहरूले औषधीय तथा सुगन्धित जडीबुटीसम्बन्धी स्थलगत अध्ययन गरेका छन्।

विद्यार्थीहरू शनिबार दैलेखको गुराँस गाउँपालिका–६, सिद्धपाइलामा अध्ययन भ्रमण गरेका हुन्।

औषधीय तथा सुगन्धित बिरुवाको व्यावहारिक ज्ञान प्राप्त गर्ने उद्देश्यले आयोजना गरिएको भ्रमणमा ३० जना विद्यार्थी सहभागी थिए।

भ्रमणका क्रममा उनीहरूले विभिन्न औषधीय तथा सुगन्धित बिरुवाबारे जानकारी लिएकाे विद्यार्थी जीवन गिरीले ए.के सञ्चारलाई जानकारी दिए।

कृषि संकायका विभागीय प्रमुख डा. विमललाल कर्णले व्यावहारिक सिकाइले विद्यार्थीहरूलाई उपयोगी ज्ञान दिलाउने बताए।

संकाय संयोजक धिरेन्द्रमान थापाले स्रोतसाधन अभावका कारण कार्यक्रम सञ्चालनमा कठिनाइ भएको उल्लेख गर्दै आफ्नै संकायको बस सुविधा भए अझै प्रभावकारी हुने धारणा राखे।

विद्यार्थीहरूलाई सुर्खेतको बायो कर्णाली एरोमा प्रालिमा जडीबुटीको व्यावसायिक उत्पादन, प्रशोधन र औद्योगिक उपयोगबारे जानकारी दिइएको थियो।

उद्योगका सञ्चालक राजेन्द्र विष्ट कर्णालीको अमला, तुलसी, हिबिस्कस, रोजमेरी, आरोग्य हर्बल चिया लगायत उत्पादनबारे व्यावहारिक जानकारी गराएका थिए।

विद्यार्थीहरूले भ्रमणलाई फलदायी भएको प्रतिक्रिया दिएका छन्। कक्षा कोठाभन्दा बाहिर प्रत्यक्ष अध्ययन गर्न पाउँदा उनीहरू उत्साहित देखिएका थिए। कृषि नै अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले यसलाई प्राथमिकता दिनुपर्ने विद्यार्थीहरूको माग छ।

प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार