वीरेन्द्रनगरमा दुई दिने मोबाइल पत्रकारिता तालिम सुरु

कर्णालीका १० वटै जिल्लाका ४५ पत्रकारको सहभागिता

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुई दिने मोबाइल पत्रकारिता (मोजो) तालिम सुरु भएको छ।

कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ४५ जना पत्रकारहरूको सहभागिता रहेको यो तालिम आजबाट सुरु भई भोलिसम्म सञ्चालन हुनेछ।

तालिम नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको आयोजनामा र कर्णाली प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अप्ठ्यारो भूगोल र अविकसित संरचनाबीच सूचनाको पहुँच विस्तार गर्न मोबाइल पत्रकारिता उपयोगी हुनसक्ने बताएका छन् ।

उनले भने,`समय ढल्किएपछि कार्यक्रम गर्नुको सट्टा सोही बजेटले उपलब्धिमूलक कार्यक्रम गर्नु राम्रो हो। कर्णालीमा परम्परागत पत्रकारिताको पहुँच सिमित हुँदा मोबाइल पत्रकारिता प्रभावकारी माध्यम बन्न सक्छ।`

मुख्यमन्त्री कँडेलले प्रविधिको प्रयोगबाट स्थानीय आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सकिनेमा विश्वास व्यक्त गर्दै तालिममा सिकिएको ज्ञान व्यवहारमा उतार्न आग्रह गरे।

`यहाँ पूर्वाधारको अवस्था कमजोर छ, तर प्रविधिले हाम्रा हातमा मोबाइल दिएको छ। मोबाइलमै आधारित पत्रकारिता कर्णालीका लागि उपयुक्त माध्यम बन्न सक्छ,` उनले थपे।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले तालिमले स्थानीय पत्रकारलाई नयाँ प्रविधि र सीपमा दक्ष बनाउन सघाउने बताए। उनले भने, `कतिपय साथीहरूले आफूले जानेका कुरामै सीमित रहेर न्यु मिडियाको प्रयोग गर्दै आएका छन्।

अब तालिममार्फत त्यो अभ्यासलाई अझै सशक्त बनाउनेछौं। उनले महासंघको नेतृत्व तहमा रहेका साथीहरूलाई जिम्मेवारीका साथ तालिममा देखिएको उत्साहलाई भविष्यमा अन्य जिल्लामा विस्तार गर्न आग्रह गरे।

हामी अब जाजरकोटजस्ता अन्य जिल्लामा बजेट र स्रोत पुगेसम्म यस्ता कार्यक्रम गर्दै जाने सोचमा छौं,`अध्यक्ष शर्माले भने।

कार्यक्रममा सहभागी पत्रकारहरूले मोबाइल पत्रकारिता कर्णालीको भौगोलिक चुनौतीबीच सूचना सम्प्रेषणको प्रभावकारी माध्यम बन्ने अपेक्षा राखेका छन्।

आयोजक संस्था नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सहयोगी मन्त्रालय दुवैले तालिमले कर्णालीमा पत्रकारिताको गुणस्तर सुधारमा सकारात्मक टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।