
मैले आफ्नो जन्मथलोको माटो छोडेको धेरै भइसक्यो। घट्टे खोलामा पौडी खेलेर, गोठाला गर्दै, उकाली–ओराली हिँडेर बितेको बाल्यकालको सम्झना आज पनि मुटुमा ताजै छ।
तर ठूलो मान्छे बन्ने सपना बोकेर सहर पस्दाको केही समयमै थाहा पाएँ मेरो जन्मथलोको नाम सुन्नेबित्तिकै धेरैले `ओहो! त्यो दुर्गम ठाउँ` भन्दै ओठ टोक्छन्।
जाजरकोट भनेपछि झट्ट धेरैले झाडापखाला, रोग, भोक र भूकम्प मात्र सम्झन्छन्। तर यहाँ सपनाहरू पनि छन्, यहाँ संघर्षको जिन्दगी पनि छ।
शिरमा भारी बोकेर पहाड चढ्ने मेरी आमाले थकाइ मेट्दै भन्थिन्,`छोरा, त्यो सपनाको सहरमा कसैबाट नहेपिनु है!` उनले किन यस्तो भन्थिन्, मैले धेरै समयपछि मात्र बुझ्न सकेँ।
एक दिन सहरको चिया पसलमा साथीहरूसँग बसेको थिएँ। कुरै कुरामा मेरो जन्मथलोको कुरा चल्यो। एक जनाले हाँस्दै भन्यो, `त्यो जाजरकोट त भूकम्पले तहसनहस बनाएको ठाउँ होइन र ? उता त अस्पताल पनि पुग्दैन रे!`
उसका शब्दले मन अमिलो बनायो। म मौन भएँ। हो, भूकम्पले यहाँका घर मात्र होइन, पुर्खाले जोडेको सपना, आस्थाले टिकाएको आँगन र छानामुनिको सुरक्षा पनि भत्किएको थियो।
त्यो रात एकाएक जमिन हल्लियो, अनि जिन्दगीले अर्कै रूप देखायो, कसैले आमा गुमायो, कसैले सन्तान, कसैले त भविष्य नै। हलो समाउने हातहरूले आज भग्नावशेष पल्टाइरहेका छन्। रोगहरूले बाबुआमाका काख खाली बनाएका छन्।
तर यति हुँदाहुँदै पनि यही माटोमा खुट्टा रोपेर उठ्ने संकल्प गरेका मान्छेहरू छन्।
सहरमा बसेर कतिपयले हाम्रो अन्धकार मात्र देख्छन्, तर हाम्रो आँखामा झल्किएको आशाको उज्यालो देख्दैनन्। हामी भूगोलको कारण पछि परेका हुन सक्छौँ, सोच पनि त्यहीअनुसार ढिलो बढेको होला। तर हाम्रो माटोले कहिल्यै धोका दिएको छैन।
यहाँका माटोले रङ्गिएका औँलाहरूले नै भोक मेटेका छन्। हाम्रा कथा केवल पीडाका होइनन्, आत्माको गहिराइसँग गाँसिएका जीवनका साँचो दस्तावेज हुन्।
मेरो आमा बुवा किसान हुन्। बिहान उज्यालो नहुँदै उठ्ने, खेतबारीमा पसिना बगाउने अनि साँझ ढल्दासम्म मात्रै फर्किने।
आकाश छेक्ने उनीहरूको पसिनै हाम्रो भाग्य थियो। जब भुइँचालोले हाम्रो घर भत्कायो, बुवाले भनेका थिए, `गरेपछि फेरि उठ्छ, बाबु !` त्यो शब्द आज पनि मेरै हिम्मतको जरो हो।
हाम्रो गाउँको भूगोल कठोर छ। एक घण्टा उकालो हिँडेर मात्र स्कुल पुगिन्छ। बिरामी हुँदा अस्पताल निकै टाढा छ। बर्खामा खोलाले बाटो थुन्छ, हिउँदमा चिसोले मान्छे गल्छ। तर यही पहाडहरूले हामीलाई बलियो बनाएका छन्। यिनै भिरहरू चढ्दै हामीले जिन्दगी बाँच्न सिकेका छौँ।
विद्यालय जीवन सम्झिँदा आज पनि मन चसक्क हुन्छ। घाँस काट्दै, दाउरा खोज्दै, सोतर पात बटुल्दै स्कुल जानु हाम्रो दैनिकी थियो। सहरका जस्तो सुविधाजनक जिन्दगी हामीलाई कहिल्यै जुरेन। गाईबस्तु चराउँदै गृहकार्य अधूरा भएका दिनहरू, चर्को घाम, झरी वा हिउँमा घण्टौँ लगाएर स्कुल हिँडेका ती दिनहरू, रोटी झोलामा बोकेर पढ्न गएकाहरू यिनै संघर्षले बनाएको हाम्रो कथा हो।

बाल्यकाल हाम्रो लागि संघर्षको उपहार थियो। आमाले दिएको रोटी नै बिस्कुट जस्तो लाग्थ्यो। चप्पल चुँडिँदा डोरीले बाँधेर हिँडिन्थ्यो। तर मनमा एउटा मात्रै जिद्दी थियो केही गरेर देखाउने ।
हामीलाई दया हैन, समानताको दृष्टि चाहिएको हो। किनभने त्यो ‘पछाडि परेको’ भनी हेला गरिने ठाउँबाटै हामी अगाडि बढ्ने हिम्मत ल्याएका छौँ। हाम्रो पाइला जहाँ पुगे पनि हाम्रो आत्मा हाम्रो माटोमै गाँसिएको छ।
जाजरकोट दुर्गम होला, तर यहाँका मान्छेहरू आँधीजस्तै परिस्थितिमा पनि उभिइरहन सक्ने विशाल आत्माका धनी छन्। कसैले हाम्रो अभाव देख्छन्, तर हामीले ती अभावभित्रै आशाको बीउ रोपेका छौँ।
हामीलाई भोकले होइन, आत्मीयताको अभावले पोल्थ्यो। हामी गुनासो होइन, संघर्षको सौन्दर्यमा विश्वास राख्नेहरू हौँ।
सहरले कहिल्यै देख्दैन खोलातिर गाग्री बोकेर हिँड्ने दिदीको थकान, टुकीको मधुरो उज्यालोमा निदाएका साना आँखाहरू। तर हामीलाई थाहा छ, त्यो अँध्यारोको मूल्य के हो।
आज म सहरको भीडमा छु। मान्छे धेरै छन्, तर अनुहारहरूमा आत्मीयता छैन। गाउँमा थिए, जहाँ छिमेकीको पीडा आफ्नैजस्तो लाग्थ्यो। जहाँ चिया नपिउँदै मनका कुरा पोखिन्थे। सहरमा अग्ला घर छन्, तर गहिरा एकान्त छन्।
झरी पर्दा सहरमा मान्छे दौडिन्छन्, तर गाउँमा त्यो झरीसँगै माटोको सुगन्ध बास्ना हुन्थ्यो। आज पनि सहरको सिसा छुँदा मन भत्किन्छ, माटो छुँदा बनिन्छ।
हिजो जसले गाउँले भनेर हाँसे, दुर्गम भनेर हेपे, आज ती नै सोध्छन्, `तपाईं यति दृढ कसरी बन्नुभयो ?` म मुस्कुराउँछु। ती संघर्षहरू, ती सपना, ती आँसुहरू जसले मलाई बनाएका हुन्, ती बताउन सक्दिनँ।
मेरो शक्ति त्यो माटो हो, जहाँ म पटक–पटक लडेँ, तर उठेँ। त्यो माटो हो, जहाँ मैले मात्र जन्म लिएको छैन, साँच्चै बाँच्न सिकेको छु।
हामी जन्मेको माटोलाई लाजको होइन, गर्वको विषय ठान्छौँ। किनभने त्यही माटो हो जहाँ आमाको चुल्होमा पाकेको भातको गन्ध अझै मनमा सल्किरहेछ। जहाँ बाबुको पाखुरामा घामले पोलेको आदर्श आज पनि काँधमा बोकेर हिँडिरहेछु।
गाउँ उस्तै छ शान्त, सरल र सजग। सहरले जे दिए पनि गाउँले दिएको आत्मा कहिल्यै साट्न सकिँदैन। त्यसैले म बारम्बार भन्छु, गाउँले हुनु लाज हैन, त्यो त मेरै चिनारी हो।
हामी पछि परेका छौँ होला, तर कहिल्यै हार मानेका छैनौँ। हामी ती मान्छे हौँ, जसले सुक्खा भित्तामा पनि सपना लेख्छौँ, आँसु लुकाएर पनि हाँसो बाँड्छौँ, र जन्मेको माटो सम्झिँदा सधैँ गर्व गर्छौँ, घृणा हैन्।
लेखक: रेशमबहादुर खड्का सचिव, नेपाल पत्रकार महासंघ, जाजरकोट
