सुर्खेत । दैलेखको महाबु गाउँपालिकामा सिकारबाट फर्किंदै गरेका बेला भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ।
जंगलमा सिकार खेलेर फर्किने क्रममा चिप्लिएर बन्दुक पड्किएपछि उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
महाबु गाउँपालिका–४, बतासे निवासी ३० वर्षीय सूर्यबहादुर थापा बलामी चिप्लिएसँगै बोकेको भरुवा बन्दुक अचानक पड्किँदा उनको पछाडि हिँडिरहेका २८ वर्षीय पूर्णबहादुर थापा बलामीको छातीमा छर्रा लागेर घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटना गाउँबस्ती नजिकैको ओरालो बाटोमा भएको हो। सिकारका लागि गएका ६ जनाको समूह दुई समूहमा विभाजित भएर जंगल पसेका थिए। सिकार नलागेपछि उनीहरू रित्तै घर फर्किंदै गर्दा बाटोमै सो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक तथा दैलेख प्रहरीका सूचना अधिकारी लालबहादुर सुनारले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको प्रत्यक्षदर्शी ओमबहादुर बलामीसँग समेत विस्तृत सोधपुछ भइरहेको छ।
प्रहरीले घटनामा प्रयोग गरिएको भरुवा बन्दुक बरामद गरेको छ भने सूर्यबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताइएको छ।
