कर्णालीको आवाजलाई राष्ट्रिय बहसमा ल्याउन जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’



सुर्खेत । जुम्लामा कर्णालीको साहित्य, संस्कृति, इतिहास र स्थानीय ज्ञानबारे बहस गर्न ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना हुने भएको छ।

कुटीरो रिसर्च सेन्टरको आयोजनामा हुने सम्मेलनले कर्णालीलाई गरिबी, अभाव र विकटताका रूपमा मात्र प्रस्तुत गर्ने परम्परागत भाष्य परिवर्तन गर्दै यहाँको ज्ञान, सिर्जना र मौलिकतालाई राष्ट्रिय बहसमा ल्याउने लक्ष्य राखेको छ।

आयोजकका अनुसार कर्णालीमा पुस्तौंदेखि विकसित लोककथा, देउडा, लोकगीत, मौखिक इतिहास, स्थानीय भाषा, कला, परम्परागत सीप र जीवनपद्धतिबारे पर्याप्त अध्ययन र दस्तावेजीकरण हुन सकेको छैन। सम्मेलनमार्फत यस्ता विषयलाई नयाँ पुस्ता र राष्ट्रिय विमर्शसँग जोड्ने प्रयास गरिनेछ।

कुटीरो रिसर्च सेन्टरका अध्यक्ष महेश नेपालीले कर्णालीलाई अध्ययन गर्ने ठाउँका रूपमा मात्र नभई विचार निर्माण गर्ने भूगोलका रूपमा स्थापित गर्नुपर्ने बताए।

उनले कर्णालीका मानिसले आफ्ना अनुभव, ज्ञान र सिर्जनाका आधारमा आफ्नो कथा आफैं भन्न सक्ने वातावरण बनाउन सम्मेलन आयोजना गर्न लागिएको बताए।

सम्मेलनमा ‘कसको कथा लेखिन्छ?’, ‘कसको आवाज साहित्यमा आउँछ?’ र ‘कसको ज्ञानलाई ज्ञान मानिन्छ?’ लगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ।

त्यस्तै, स्थानीय भाषा, लोकसाहित्य, मौखिक इतिहास र परम्परागत ज्ञानलाई आधुनिक प्रविधि तथा नयाँ पुस्तासँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि बहस गरिनेछ।

सम्मेलनमा लेखक, साहित्यकार, अनुसन्धानकर्ता, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थी तथा स्थानीय ज्ञानका जानकारलाई सहभागी गराउने तयारी गरिएको छ।

आयोजकले सम्मेलनलाई एकदिने कार्यक्रमका रूपमा मात्र सीमित नगरी कर्णालीमा अध्ययन, अनुसन्धान, लेखन र विचार निर्माणको दीर्घकालीन अभियानका रूपमा अघि बढाउने जनाएको छ।

सम्मेलनको मिति, स्थान र कार्यक्रमको विस्तृत विवरण भने आयोजकले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार