बाँके । तीज पर्वलाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोड्ने उद्देश्यले आयोजना गरिएको तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

शनिवार बिहानी युवा क्लब तथा भैयापुर महिला समूह बाँकेको आयोजना तथा विभिन्न व्यक्ति र संस्थाको सहयोगमा जानकी गाउँपालिका–२ बिहानी चोकमा सामूहिक तथा एकल खुला तीज नृत्य प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको हो ।
प्रतियोगितामा स्थानीय महिला, युवती तथा विभिन्न समूहको उल्लेख्य सहभागिता थियो। सहभागीहरूले तीजका गीतमा नृत्य प्रस्तुत गर्दै पर्वको उत्सवसँगै आफ्ना प्रतिभा देखाएका थिए। उनीहरूका प्रस्तुतिमा नेपाली समाज, संस्कृति र परम्परासँग जोडिएका विषय समेटिएका थिए।

प्रतियोगितामा स्थानीय महिला तथा युवतीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
प्रतियोगिताको एकलतर्फ मधु बोहोरा प्रथम, जेनिसा राना मगर द्वितीय र संस्कृति शर्मा तृतीय भएका छन्। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
यस्तै, सामूहिकतर्फ प्रथम हुने इन्टिग्रेटेड (A) स्कुल खजुरा प्रथम, साइनिङ स्टार मन्टेस्वरी द्वितीय, सिटिजन नमुना बोर्डिङ स्कुल तृतीय र गुराँस मावि सान्त्वना भएका छन् ।
जसमा समूहमा प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ५ हजार र सान्त्वना हुने समूहलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागीहरूले तीजका मौलिक तथा सामाजिक चेतना झल्काउने गीतमा नृत्य प्रस्तुत गर्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षणको सन्देश दिएका थिए। आयोजकले तीजको मौलिकता जोगाउँदै नयाँ पुस्तालाई संस्कृति र परम्परासँग जोड्ने प्रयासस्वरूप प्रतियोगिता आयोजना गरिएको जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिकाका उपाध्यक्ष राम प्यारी यादवले स्थानीय प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर दिनुका साथै सामाजिक सेवासँग जोडिएको कार्यक्रम सकारात्मक रहेको बताएकी छन्। उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिएकी छन् ।
विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष छब्बन खाँले तीज नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले यसको मौलिकता संरक्षण गर्नुपर्ने बताए । उनले कला र संस्कृतिको संरक्षणसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्नु प्रशंसनीय भएको उल्लेख गरे।
कार्यक्रम संयोजक पदमबहादुर बिष्टले प्रतियोगिताबाट संकलित रकम आयोजकको प्रतिबद्धताअनुसार बाढीपीडितको सहयोगमा उपयोग गरिने जानकारी दिए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगदाता, अतिथि, निर्णायक, सहभागी कलाकार तथा स्थानीयवासीलाई धन्यवाद दिएका छन्।
प्रतियोगिताको निर्णायक मण्डलमा खगेन्द्र नेपाल संयोजक तथा यामु मगर र शुभेच्छा नेपाल सदस्य रहेका थिए । पूर्ण बि.कको अध्यक्षतामा सम्पन्न प्रतियोगिताले तीज संस्कृति संरक्षण, स्थानीय प्रतिभाको प्रोत्साहन र बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यलाई एकै ठाउँमा जोडेको आयोजकको भनाइ छ।









