पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलको मूल्य २०९ रुपैयाँ २८ पैसा

काठमाडौं । नेपाल आयल निगमले डिजल र पेट्रोलमा उच्च वृद्धि सहित भारतबाट इन्धनको नयाँ मूल्यसूची प्राप्त भएको बताएको छ । यद्यपि आयल निगमले नेपालमा लागु हुने गरी इन्धनको भाउ भने बढाएको छैन ।

भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको लागत एक लिटरमा २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार मट्टीतेलको लागत मूल्य १४७ रुपैयाँ ९९ पैसा पुगेको छ । यो हालसम्मै उच्च मूल्य भएको निगमको भनाइ छ । नयाँ मूल्यसूचीअनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ ।