सुर्खेत । केही दिनयतादेखिको अविरल वर्षाका कारण बाढी पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सतर्क रहन अनुरोध गरेको छ । केही दिनअघि नेपाल प्रवेश गरेको यस वर्षको मनसुन सक्रिय बन्दै गएपछि भारी बर्षा हुन थालेको छ ।
बर्षासँगै सुर्खेत लगायत छिमेकी जिल्लाहरुमा बाढी पहिरोको उच्च जोखिम बढेपछि प्रशासनले सतर्कता अपनाउन आग्रह गरको हो । लगातारको वर्षाले सुर्खेतमा रहेका सिम्ता खोला, भुप्रा खोला, चिंगगाड खोला, खहरे खोला, गोछे खोला, इत्राम खोला, खोर्के खोला, निकास खोला, भेरी तथा कर्णाली नदीको तटिय क्षेत्र आसपासका क्षेत्रमा बाढी पहिरोको उच्च जोखिम बढेको छ । त्यस क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।
जोखिमयुक्त स्थानमा बसोबास गर्ने समुदायले सतर्कता अपनाउनुका साथै कुनै अपृय घटना घटेमा स्थानीय वडापालिका, गाउँपालिका, नगरपालिका तथा सुरक्षा निकायमा जानकारी गराउँन सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अनुरोध गरेका हुन् । देशैभर मनसुन सक्रिय भएसँगै पछिल्ला केही दिनयता कर्णालीसहित देशका अधिकांश क्षेत्रमा भारी बर्षा भइरहेको छ ।
पछिल्लो २४ घण्टामा सुर्खेतमा ४१ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । यस्तै कर्णालीका अन्य जिल्ला दैलेखमा २५, जाजरकोटमा १७, हुम्ला विमानस्थलमा ३१ मिलिमिटर वर्षा भएको छ ।

बुधबार राती पनि भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदी आसपास, दैलेख, अछाम, कालीकोट लगायतका केही क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन सुर्खेत प्रशासनले आग्रह गरेको छ ।
उद्दारका लागि तलका नम्बरहरुमा सम्पर्क गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्