पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

जुम्ला । लगातार परेको वर्षाले आएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । विभिन्न भागमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।

कर्णाली राजमार्गको कालीकोट खण्डको अधिकांश ठाउँ तथा जुम्ला खण्डको केही भागमा पहिरोले सडक अवरुद्ध हुँदा आउजाउ बन्द थियो । सडक डिभिजन कार्यालय जुम्लाको सक्रियता तथा जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, सुरक्षा सुरक्षा निकायलगायतको पहलमा कर्णाली राजमार्गको जुम्ला खण्ड सुचारु भएको हो ।

जुम्लाको रारालिही र नाग्म बीचमा ठूला ढुंगा खसेपछि अवरुद्ध राजमार्गमा खसेको पहिरो पन्छाएपछि शुक्रबार राती नै सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार कर्णाली राजमार्गको कालीकोट दैखोलादेखि जुम्लातर्फको सडक सुचारु भएको छ । सडक डिजिभन जुम्लाका ३ र निजी ४ गरी ७ वटा मेसिन निरन्न्तर प्रयोग गरेर राजमार्ग खुलाइएको प्रमुख भण्डारीले बताए । कर्णाली राजमार्गले विशेषगरी कालीकोट, मुगु र जुम्ला जोड्ने गरेको छ ।