जुम्लाको तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका

jumla bazar

खलंगा । जुम्लाको तिला गाउँपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिकाको नौवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताएका छन् ।

तिला गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएको योगीले बताए ।

पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष योगीले बताए । भौगोलिक विकटता भएकाले पालिकाभित्र जम्मा पाँचवटा स्वास्थ्य चौकी मात्र रहेका छन् ।

महिलाहरु घरायसी काममा व्यस्त हुने हुँदा यसअघि बालबालिका खोप लगाउन छुट्ने गरेका थिए । अहिले पालिकामा चारवटा आधारभूत स्वास्थ्य केन्द्र र तीनवटा स्वास्थ्य एकाइ स्थापना हुँदा खोपबाट वञ्चित हुनु नपरेको गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताए ।

उनले स्वास्थ्य शाखाका जनशक्तिहरु परिचालन गरेर पूर्ण खोप सुनिश्चितता घोषणा गरेको बताए । पातारासी गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुन बाँकी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

यहाँका आठ स्थानीय तहमध्ये छ पालिका यसअघि नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् ।