अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट । अविरल वर्षाले गर्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कोलिकोटको खाँडाचक्र नगरपालिका २ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका २ का वडाध्यक्ष बिर्खबहादुर विकले जानकारी दिएका छन् । पहिरोका कारण यात्रुहरु अलपत्र परेका छन् ।

यस्तै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर बिष्टले बताए ।

अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।