बैंक नहुँदा सेवाग्राहीलाई  सास्ती

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा एउटा पनि बैंक स्थापना नहुँदा सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका छन् । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारद्वारा जुनिचाँदेमा सञ्चालन भएका योजना तथा कार्यक्रमको रकम निकासा लिन सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यता छ । बैंक स्थापना नहुँदा जुनीचाँदेवासी सामान्य चेक साट्न पनि खलङ्गा आउने गरेका छन् ।

गाउँपालिकामा सञ्चालन हुने विभिन्न आयोजनाको रकम निकासा, कर्मचारी तलब भत्ता, सामाजिक सुरक्षा भत्तालगायत रकम निकाल्न दुई÷तीन दिन पैदल हिँडेर खलङ्गा बजार जानुपर्ने बाध्यता कायमै छ ।

बैंक नहुँदा सबैभन्दा धेरै समस्या सामाजिक सुरक्षाको भत्ता वितरणमा हुने देखिन्छ । गाउँपालिकाले हालसम्म नगदै घरमै गएर बुझाउँथ्यो । पछिल्लो समय बैंकिङ प्रणालीमार्फत दिन सङ्घ सरकारबाट परिपत्र आएकाले ज्येष्ठ नागरिकलाई समस्या भएको छ ।  सम्बन्धित व्यक्ति नै बैंकमा उपस्थित हुनुपर्ने भएकाले ज्येष्ठ नागरिक अपाङ्ग तथा बालबालिकालाई समस्या हुने गरेको बताइएको छ । रासस